दलहरुको सहमति र समन्वयमा नै संसदको गतिशीलता निर्भर रहन्छ : सभामुख घिमिरे

जनपत्र
१६ असार २०८०, शनिबार ०७:४०

सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुको आपसी सद्‍भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहने बताएका छन्। उनले राजनीतिक दल र सांसदबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेका छन्।

संसद दिवस– २०८० को अवसर शुभकामना व्यक्त गर्दै उनले भने,‘बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले राजनीतिक दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहन्छ। त्यसैले संसदमा उपस्थित सबै राजनीतिक दल र माननीय सदस्यहरुबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गर्दछु।’

घिमिरेले संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्थाको रुपमा अविच्छिन्न स्थापित गर्न प्रेरणा मिलोस् भन्ने समेत कामना गरे। उनले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रुपमा आत्मसात् गर्नु सबैको प्राथमिक दायित्व हुनुपर्नेमा जोड दिए।

‘नेपालमा वि। सं। २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरण गर्दै वर्षेनि संसद दिवस बनाइँदै आएको छ। आजको दिनमा जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रुपमा आत्मसात् गर्नु हामी सबैको प्राथमिक दायित्व हुनुपर्ने मेरो जोड रहेको छ।’सन्देशमा भनिएको छ,‘नेपालको संविधानले अंगिकार गरेको जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै नेपाली जनताले आवधिक निर्वाचनबाट जननिर्वाचित सर्वोच्च संस्था संसदमा प्रतिनिधि चयन गर्दै आएका छन्।’

सभामुख घिमिरेले संसद दिवसले संघीय संसदका सदस्यहरु, संविधान सभा सदस्यहरु, पूर्वसांसद, संसद सचिवालय लगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आम नेपाली जनतामा संसदीय लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*