र्याप स्टारको अन्तिम प्रतिस्पर्धा असार २ गते हुने
र्याप गीतमा आधारित रियालिटी सो ‘र्याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ गते हुने भएको छ ।
सोमवार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रालिले यस्तो जानकारी गराएको हो ।
हिपहप र ‘र्याप गीत संगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शोको आयोजना गरिएको निर्देशक आदित्यविक्रम अछामीले बताए । ‘हामीले हिपहप र ‘र्याप गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शो को आयोजना गरेका छौं । पहिलो शोबाटै हामी धेरै उत्साहित भएका छौं,’ निर्देशक अछामीले भने ।
अन्तिम प्रतिस्पर्धामा अनुप उप्रेती (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) पुगेका छन् । उनीहरूमध्ये असार २ गते हुने अन्तिम प्रतिस्पर्धामा १ जना विजेता छानिने प्रतियोगिताका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेतीले जानकारी गराए ।
प्रतियोगिता नयाँ पुस्ताहरूमा लोकप्रिय रहेकाले आयोजक टोली उत्साहित हुँदै कार्यक्रमको सिजन २ छिट्टै आउने ग्रीन मन्की फिल्मस् प्रालिका सीईओ सुरेश कुसवारले बताए । कार्यक्रमले नयाँ प्रतिभालाई प्लेट्फर्म दिँदा नयाँ–नयाँ प्रतिभाले पनि अवसर पाएको कार्यक्रमका क्रिएटिभ हेड अबिरल विष्टको भनाइ थियो ।
कार्यक्रमका अर्का निर्माता विनोद पोख्रेलका अनुसार प्रतियोगितामा भोटिङको आधारमा विजेता घोषणा गरिने छ ।
प्रतियोगिताको भोटिङ पार्टनरमा ओएसआर डिजिटल, टिकट पाटनरमा माइपे र फोटोग्राफी पाटनरमा फोटो फेशन स्टुडियो रहेका छन् । करीब ४ महिना चलेको कार्यक्रमलाई बीबी एयरबेजले मुख्य प्रायोजन गरेको छ भने स्पेश फोरके टीभीमा नियमित प्रसारण हुँदै आएको छ ।
प्रतियोगितालाई ओएसआर रियालिटीबाट डिजिटल प्लेटर्फमा देख्न सकिन्छ । प्रतियोगिताको निर्णायकमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) रहेका छन् ।






