मकवानपुरको मनहरीका चेपाङका घरमा जस्ताको छानो हालिदै
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका साँच्चै गरिव र पछाडी पारिएका समुदायको सरकार बन्दै छ । लोपन्मुख बोटे समुदायका लागि एकिकृत बस्ति निर्माण गरिदिएको मनहरी गाउँपालिकाले चेपाङ, वनकरिया र गरिव समुदायका लागि जस्ताको छानोको हालिदिन लागेको छ ।
स्थानीय सरकारलाई जनताको सबै भन्दा नजिकको सरकारको रुपमा अनुभुती गराउनका लागि चालु आर्थिक वर्षमा २ सय परिवार खरको छानो भएका अति गरिव, चेपाङ, वनकरिया लगायतका समुदायका घरमा टिनको छानो हालिदिन लागेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

गाउँपालिकाले जनमुखी जनता आवास कार्यक्रमको नाम दिएर ४० लाख रुपैयाँ बजेट खर्च गरेर बिपन्न परिवारको घरमा जस्ता हालिदिन लागेको अध्यक्ष उप्रेतीले बताउनुभयो । बिशेषगरी मनहरी गाउँपालिका वडानम्बर ६ पोलोघारीका चेपाङ परिवारको अवस्था दयनिय भएकाले उनीहरुका घर घरमा गाउँपालिकाले जस्ता हालिदिन लागेको उहाँले बताउनुभयो ।
सकेसम्म गरिव परिवारका घरमा यस वर्षनै खरको छानो हालिसक्ने नभएपनि आउँदो वर्ष भने सबै पिन्न परिवारका घरमा जस्ताको छानो हालिसक्ने सोचका साथ काम गर्न लागिएको उहाँले बताउनुभयो ।






