नेफ्टा अवार्डको मनोनयनमा ‘छक्का पञ्जा ४’को कब्जा
आगामी साउन ६ गते अमेरिकामा आयोजना हुन लागेको नेफ्टा अवार्डको ११औं संस्करणको मनोनयन सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको सोल्टीमोडस्थित होटल सोल्टीमा आयोजित एक समारोहका बीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनितलाई प्रमाणपत्र वितरण गरे । फिल्म ‘छक्का पञ्जा ४’ सर्वाधिक १५ विधामा मनोनयनमा परेको छ ।
उत्कृष्ट फिल्मको विधामा ‘छक्का पञ्जा ४’सँगै ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’, ‘द सेक्रेट्स अफ राधा’ र ‘चिसो मान्छे’ प्रतिस्पर्धामा छन् । त्यस्तै, उत्कृष्ट अभिनेतातर्फ विपिन कार्की, दयाहाङ राई, दीपकराज गिरी, अनमोल केसी र प्रदीप खड्का मनोनयनमा पर्दा उत्कृष्ट अभिनेत्रीको विधामा अरुणा कार्की, स्वस्तिमा खड्का, मेनुका प्रधान, सृष्टि श्रेष्ठ र मिरुना मगरबीच प्रतिस्पर्धा हुँदैछ ।
कार्यक्रममा उपराष्ट्रपति यादवले गणतन्त्रपछि नेपाली फिल्मले संसारभर फैलने अवसर पाएको उल्लेख गर्दै धर्मनिरपेक्षा, संघीयता र समावेशिताजस्ता संवैधानिक व्यवस्थाको प्रवद्र्धनमा फिल्मको योगदान रहेको चर्चा गरे । नेपाली फिल्मको बजार र दृश्यभाषाको गुणस्तरमा विकास भैरहेको बताउँदै उनले नेपाली फिल्मलाई अझै अन्तर्राष्ट्रियकरण गर्न अवार्डको भूमिका महत्वपूर्ण हुने बताए ।
उत्कृष्ट ५ मनोनयन सार्वजनिक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ फिल्मकर्मीहरु नीर शाह, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषालसहित फिल्म र संगीतकर्मीहरुको उपस्थिति रहेको थियो । फेम नेपाल, युएस खबर, आर्यन फिल्म्सले अमेरिकी संस्करणको अवार्ड गर्न लागेका हुन् । अवार्डमा सहभागी हुन नेपालबाट ३० भन्दा बढी फिल्मकर्मी अमेरिका जानेछन् ।






