फ्राइडे रिलिजः वर्षकै अन्तिम फिल्मको रुपमा आजदेखि सिनेमा हलमा ‘बहाव’
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘बहाव’ प्रदर्शनमा आएको छ । यसका साथै आज चैत महिनाको अन्तिम शुक्रवार भएकाले ‘बहाव’ सिनेमा हलमा प्रदर्शन हुने वर्षकै अन्तिम नेपाली फिल्म समेत बनेको छ ।
प्रमोद कँडेलको लेखन तथा निर्देशन गरेको यो फिल्मसंगै आजदेखि ‘प्रसाद–२’ पनि प्रदर्शनमा आउने तयारीमा थियो । तर, केह दिनअघि उच्च अदालत पाटनले ‘प्रसाद २’ को प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गरेपछि आजदेखि ‘बहाव’ मात्र सिनेमा हलमा आएको हो ।
अभिनेत्री सुरक्षा पन्त तथा अभिनेता कमलमणि नेपालले छोरी र बुवाको भूमिका निर्वाह गरेको फिल्म हो बहाव, जसलाई स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाले निर्माण गरेका हुन् ।
यो फिल्म जिज्ञासा, विचार अनि यथार्थको कथामा आधारित छ, जसमा नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको छ ।
फिल्ममा अभिनेत्री पन्तको रुपमा फिल्ममा जिज्ञासाका साथ जीवन जिउने व्यक्ति विभिन्न उतारचढावका परिस्थितिबाट गुज्रिएको अवस्थामा त्यसबाट अघि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रूपमा अगाडि बढाउन सकिन्छ भन्ने कथा चलचित्रमा देखाइएको छ ।
फोटो पत्रकार श्रीधर पौडेल यो फिल्मका निर्माता हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ निर्माण गरेका थिए । निर्माता पौडेलका अनुसार आफ्नो स्वन्त्रता आफैंमा कैद गर्नेहरूका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’ मा रहेको बताएका छन् ।
बहावमा सुरक्षा पन्त तथा कमलमणि नेपालसहित अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।
सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको यो चलचित्रमा सज्जा चौलागाईंंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायांकन रहेको छ ।
यो फिल्ममा चलचित्रमा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फष्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जित क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोष्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । यो फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
यसैबीच, ‘बहाव’ ले टिकट काट्ने भाग्यशाली दर्शकलाई थाइल्याण्डको प्याकेज टुरको पुरस्कार राखेको छ । पुरस्कार जित्नका लागि ‘बहाव’को टिकट खल्ती एपमार्फत काट्नु पर्नेछ । खल्ती एप प्रयोगकर्ताको एकाउन्ट केवाइसी प्रमाणित भएको हुनु पर्नेछ । नेपालभरबाट २५ भन्दा बढी हलको टिकट खल्ती एपमार्फत काट्न सकिनेछ ।
खल्ती एपबाट टिकट काटेर सिनेमा हेर्ने एकजना भाग्यशाली दर्शकले एमडी होलिडेजको तर्फबाट एक जोडीलाई थाइल्याण्डको टुर प्याकेज जित्ने मौका पाउनेछन् । दुईतर्फी हवाई भाडा र तीनतारे होटेलमा बसाइसहितको चार रात पाँच दिनको टुर प्याकेज समावेश गरिएको छ ।
उक्त पुरस्कार प्याकेज फिल्म प्रमोशनका लागि निकै प्रभावकारी हुने निर्माण युनिटको अपेक्षा छ । विजेता छनोट फिल्म प्रदर्शन सकिएको दुई हप्तापछि खल्तीको अफिसियल पेजमार्फत लक्की ड्रमार्फत गरिने जनाइएको छ ।
यसअघि गत बुधबार यो फिल्मको काठमाडौंमा प्रिमियर गरिएको थियो । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मको विषयवस्तु फरक लागेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए ।






