बागमती प्रदेशसभाको बैठक आज बस्दै
हेटौंडा । बागमती प्रदेशसभा बैठक आज दिउसो बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आजको लागि प्रदेशसभा बैठक आह्वान गरेको हो। बैठक आज दिउँसो २ः१० बजे बस्नेछ।
उक्त बैठकमा प्रदेश सरकारले जारी गरेका अध्यादेशहरूका प्रतिस्थापन विधेयकहरू पेश हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उक्त बैठकमा निजामती कर्मचारीसम्बन्धी २ वटा अध्यादेशका प्रतिस्थापन विधेयक संसद् बैठकमा पेश गरिनेछ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई जगाउन बनेको विधेयक पनि संसदमा पेश गरिनेछ। यसअघि राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधनसम्बन्धी अध्यादेश जारी गरेको थियो।
सो अध्यादेशले हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अलग गर्ने तयारी गरेपछि एमालेले विरोध गरेको थियो। उक्त अध्यादेश निष्क्रिय पार्न वर्तमान सरकारले विधेयक ल्याएको हो।






