छवी ओझा र शिल्पालाई पक्राउको माग गर्दै हेमाले दिइन् प्रहरीमा उजुरी
कलाकार छवी ओझा र शिल्पा पोखरेलविरुद्ध छवि ओझाकी पहिलो श्रीमती हेमा ओझाले प्रहरीमा उजुरी दिएकी छन् । महानगरीय प्रहरी वृत्त गौशालामा आइतबार दिइएको निवेदनमा छवी ओझो र शिल्पालाई विपक्षी बनाइएको छ ।
उजुरीमा हेमाले भनेकी छन्–२०४१ सालमा हामीबीच विवाह भएको हो । हाम्रा दुई सन्तान छोरा राजीव र महेश छन् । उहाँ र मेरो सम्बन्ध सामान्य नै थियो । त्यसपछि उहाँ कहिले काठमाडौं कहिले जिल्लातिरै आउजाउ गरिरहनुहुन्थ्यो । त्यसपछि उहाँको व्यवहारमा केही परिवर्तन आएको मैले महसुस गर्न थालेँ । हामी बीचमा केही मनमुटाव पनि भयो । तपाईँको बानि व्यवहार मलाई ठिक लागेको छैन । के हो किन परिवर्त हुनुभएको भनेर सोध्दा केही होइन मलाई किन शंका गर्छयौ मात्र भन्नुहुन्थ्यो । हुन पनि उहाँको पेशा फिल्मी क्षेत्र भएकाले सबैसँग बोल्नुपर्छ, हाँस्नुपर्छ । मैले धेरै शंका गर्नु ठीक होइन भनी मैले त्यस विषयमा विवाद गर्न छाडेँ । विभिन्न समयमा विभिन्न महिलाहरुसँग जोडेर मलाई विभिन्न व्यक्तिहरुले सुनाउँथे मैले उहाँसँग सोध्दा सत्यता त्यस्तो होइन भन्ने जवाफहरु पटक पटक दिइरहँदा कसैका सवालमा पनि मेरो श्रीमानले अर्को विवाह नै गरेको प्रमाण थिएन, त्यसैले मेरो श्रीमान्ले भनेको कुरा नै सही हो, हामी कामको सिलसिलामा मात्र सँगसँगै भएको मात्र हो भन्ने जवाफमा मैले विश्वासै गरी बसेको थिएँ । तर यसै बीचमा शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छवीराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवी ओझासँग फेरि पनि सोध्दा के छ तिमीसँग हामीले विवाह गरेको प्रमाण ? भनी उल्टो प्रतिप्रश्न गर्दा मैले प्रमाण भेटिनँ विवाह कहीँ कतै दर्ता पनि भएको रहेनछ । अन्ततः पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि म आफैँले खोजी उहाँ नजिकका सबै व्यक्तिहरुसँग सहयोग मागी २०७६–०४–०३ गते उहाँकै कार्यालयबाट पछिल्लो मलाई सहयोग गर्ने उहाँकै कर्मचारीमार्फत निज शिल्पा र मेरा श्रीमान्ले विवाद गरी दर्ता नै गरेको विवाह दर्ताको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदारहँदै बहुविवाह गरेकाले हिजो मात्रै मैले विपक्षी पनि छवीराज ओझा र शिल्पा पोखरेलबीच मिति २०७५ पुस ११ गते विवाह दर्ता गरेको निज विपक्षीहरुको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी फेला पारेपछि निजहरुले बहुविवाह गरेको प्रमाणित नै भएकाले निज मेरो विपक्षी श्रीमान् छवीराज ओझाले घरमा श्रीमती हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी छु । निज मेरा विपक्षी पति छवीराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथाशक्य चाँडो नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरी निजहरुलाई कानुन बमोजिमको हदैसम्मको सजाय गरीपाऊँ ।”
12खरीबाट







