स्वास्थ्य सम्बन्धी अण्डाको इतिहास, आज हामी कहाँ छौँ ?

जनपत्र
८ असार २०७६, आईतवार ०६:५४

अण्डा कति स्वस्थकर खानेकुरा हो ? यसरी २०१५ देखि २०२० सम्मको अमेरिकी डायटरी गाइडलाइन्समा यसलाई प्रोटिनको प्रमुख स्रोत भनि व्याख्या गरिएको छ । तर गत महिना जे.ए.एम.ए. मा प्रकाशित एक अनुसन्धानले अण्डाको सेवनलाई पुनः विवादित तुल्याएको छ । सो अध्ययनमा मुटु सम्बन्धी रोग र अकाल मृत्यु अण्डा सेवनसँग जोडिएको भनि उल्लेख गरिएको छ ।

पछिल्लो समय गरिएका थुप्रै वैज्ञानिक अनुसन्धानहरुले अण्डाको सेवन स्वस्थकर भएपनि अत्यधिक मात्रामा खानुले वास्तवमै हृदयसम्बन्धी रोगको खतरा बढाउने निष्कर्ष निकालिरहेका छन् । जे.ए.एम.एम मा प्रकाशित रिपोर्टमा पनि प्रतिहप्ता तीनदेखि चारवटा अतिरिक्त अण्डा सेवन गर्नु वा प्रतिदिन तीनसय मिलीग्राम कोलेस्ट्रोल स्वास्थ्यका लागि राम्रो नहुने बताइएको छ । तर दिनमा एउटा अण्डा खानुले भने कुनै खतरा उत्पन्न नगराउने विगतका अध्ययनहरुमा देखिएको छ । यसरी अण्डामा प्रोटिन, मिनरल, भिटामिनलगायत विभिन्न पोषक तत्व भएपनि त्यसको पहेँलो भाग कोलेस्ट्रोलको मुख्य स्रोत हो । यस्तोमा एउटा काँचो अण्डाको पहेँलो भागमा १८४ मिलिग्रामसम्म कोलेस्ट्रोल हुने गर्दछ । त्यसैले कोलेस्ट्रोलको उच्च मात्रा हृदयघात, स्ट्रोकलगायत प्राणघातक रोगको प्रमुख कारण भएकाले नै अण्डा सेवनको विषय विवादिन रहँदै आएको बताइन्छ । तर कोलेस्ट्रोलले हानि पुर्याउने कुरा मानिसको जीवनशैली र वंशमा पनि निर्भर हुन्छ । वास्तावमा अण्डाको उत्पत्ति भएदेखि यसको सेवनबारे थुप्रै दाबी गरिँदै आएका छन् । यसरी स्वास्थ्य क्षेत्रमा अण्डाको विवादित इतिहास अमेरिकाका यी शीर्ष समाचारहरुले पनि स्पष्ट पार्दछन् ।

५४०० बी.सी (बिफोर क्राइस्ट): सहज खाद्यको नयाँ स्रोत फेला पर्यो !

कुखुराको सबैभन्दा पहिलो जिवास्म ५४०० बीसीमा दक्षिणपूर्वी एसियामा फेला पारिएको थियो । यसरी तीन हजार वर्ष अगाडि कुखुरा घरेलु जीवका रुपमा स्थापित भएको थियो र त्यसै समय यसले विश्वव्यापी बजारमा आफ्नो पहिचान बनाएको हो ।

१९०० को सुरुवातः सुरक्षित बन्दै अण्डा उत्पादन 

१९०० को दशकमा अधिकांश परिवारले व्यक्तिगत प्रयोजन र आयको स्रोत दुवै कुराका लागि अण्डा र कुखुराको व्यापक प्रयोग गर्न थाले । तर १९२० को सुरुवातमा भने कमजोर व्यवस्थापन र सिजनको प्रभावका कारण कुखरालाई सुरक्षित राख्न चुनौतीमय बन्दै गएको थियो । यसपछि १९३० को दशकमा मात्र कुखुरालाई घरभित्र राख्न सुरु गरियो जसले यसलाई खराब मौसम, ठूला जीवजन्तु र रोग लगायत वातावरणीय खतराबाट जोगायो अनि बिस्तारै कुखुराको स्वास्थ्यमा सुधार आउन थाल्यो ।

१९६८ः अमेरिकन हार्ट असोसिएसनले जारी गर्यो कडा सुझाव

त्यसबेला अमेरिकन हार्ट असोसिएसनले एक अनुसन्धानका आधारमा प्रति दिन तीनसय मिलिग्राम भन्दा बढी कोलेस्ट्रोल सेवन गर्नु नहुने सुझाव जारी गरेको थियो । अर्थात एक हप्तामा तीवटा भन्दा धेरै अण्डा नखान भनेको थियो । कुखुरा शाकाहारी जीव भएकाले त्यसको डायट मानव शरीरले अपनाउन नसक्ने अध्ययनको निष्कर्ष थियो । तर थप खोजपछि सो सुझावमा परिवर्तन आउँदै गएको हो ।

१९७०ः अण्डा निरीक्षक तैनाथ गरिँदै 

कुखुराहरु अत्यधिक उत्पादनशील साबित भएपछि खाद्य वैज्ञानिक र अण्डा उत्पादकले नयाँ नीति आवश्यक भएको महसुस गरे । यसपछि कंग्रेसले अण्डा उत्पादनको निरीक्षण सम्बन्धी नयाँ कानुन पारित गर्यो जस अन्तर्गत अण्डा सबै उपभोक्ताका लागि सुरक्षित छ छैन भन्ने सुनिश्चित गर्न सुरु गरियो ।

१९७६ः बक्सरले खाए काँचो अण्डा 

त्यस समयमा सिल्भस्टर स्टेलोनका एक प्रख्यात् बक्सर, रक्कीले एउटा हिट फिल्ममा काँचै अन्डा खाएपछि यसको खुब चर्चा भएको थियो । तर अनुसन्धानले भने अण्डा पकाएरै खाँदा बढी प्रोटिन पाइने र काँचो अण्डाको सेवनले ब्याक्टेरियालगायत किटाणुको संक्रमण गराउने जोखिम रहेको निष्कर्ष निकाल्यो ।

यसका साथै काँचो अण्डाले ‘बायोटिन’ नामक भिटामिनको उत्पादन पनि घटाउने उल्लेख गरिएको थियो । बायोटिन हाम्रो छाला, कपाल र नङका लागि आवश्यक पोषक तत्व हो । यसरी अण्डामा हुने ‘एभिडिन’ नामक तत्वले बयोटिनको उत्पादन कम गराइदिन्छ  तर पकाएको अण्डामा भने एभिडिन धेरै मात्रामा नष्ट हुन्छ ।

१९८४ः टाइम म्यागजिनको कभरमा निराशाजनक ब्रेकफास्टका रुपमा अण्डा

यो वर्ष टाइम म्यागजिनले आफ्नो कभर पेजमा कोलेस्ट्रोलको चिन्ह स्वरुप एउटा प्लेटमा दुईवटा फ्राइ गरिएका अण्डा प्रकाशन गरेको थियो । त्यसै वर्ष एग न्युट्रिसन सेन्टरले केलेस्ट्रोल र अण्डा सम्बन्धी द्विविधा हटाउने नयाँ लक्ष्य स्थापित गर्यो ।

१९९५ः द्विविधा समाधान गर्ने प्रयास 

उचित खाद्य निर्देशन सिर्जना गर्न अमेरिकाका विभिन्न प्रमुख संस्थाहररु मिलेर प्रति दिन तीनसय मिलिग्राम भन्दा धेरै कोलेस्ट्रोल उपभोग गर्न नहुने घोषणा गरे । जस्तै सन्दर्भका लागि एउटा ठूलो उमालिएको अण्डामा १८६ मिलिग्राम कोलेस्ट्रोल हुन्छ ।

२००२ः अमेरिकन हार्ट असोसिएसनको कमजोर वचन

यो वर्ष संस्थाले एक हप्ताका लागि निर्धारण गरेको अण्डाको सङ्ख्या सम्बन्धी रोक रद्द गर्यो तरपनि तीनसय मिलिग्राम भन्दा कम कोलेस्ट्रोल उपभोग गर्नुपर्ने निर्देशन भने जारी राख्यो । यता अमेरिका अण्डा सम्बन्धी विवादित रहँदै गर्दा अष्ट्रेलियालगायतका देशहरुले भने अण्डा माथिका सबै रोक हटाउन सुरु गरिसकेका थिए ।

२०१३ः अन्डा र हृदय सम्बन्धी रोगबीच कुनै सम्बन्ध फेला परेन

२०१३ मा एक ठूलो स्तरको विश्लेषणले दिनमा एउटा अण्डा सेवन गर्नु बढ्दो मुटु सम्बन्धी रोगको खतरासँग सम्बन्धित नभएको नतिजा निकालेको थियो । यसका लागि वैज्ञानिकहरुले १९६६ देखि २०१२ सम्मका मुटुका बिरामीहरुमाथि अध्ययन गरेका हुन् ।

२०१६ः विश्वकी सबैभन्दा वृद्ध मानिसले लामो आयुका लागि काँचो अण्डालाई श्रेय दिइन्

इटलीकी एमा मोरानोले उनको ११७ औँ जन्मदिनमा विश्वकी सबैभन्दा वृद्ध व्यक्तिको शीर्षक पाइन् । यसरी मोरानो लामो जीवन बाँच्ने महिलाहरुको वंशबाट आएकी थिइन् जस्तै उनकी आमा ९१ वर्षसम्म जिवित थिइन् भने उनका दुवै दिदीहरुले पनि एक शताब्दी कटाएका थिए । यस्तोमा उनको लामो जीवनमा वंशको ठूलो भूमिका रहेपनि उनले भने लामो समय बाँचेकामा काँचो अण्डालाई श्रेय दिएकी हुन् । उनका फिजिसियनले पनि उनको कोलेस्ट्रोल स्तर अत्यन्तै सन्तुलिन रहेको बताएका थिए ।

२०१८ : प्रति दिन एउटा अण्डाले राख्छ डाक्टर टाढा
चार लाख भन्दा बढी चिनियाँ नागरिकहरुमा गरिएको एक अनुसन्धानपछि दैनिक एउटा अण्डा सेवन गर्नुले हृदयसम्बन्धी रोगका कारण हुने मृत्युको जोखिम १८ प्रतिशतले कम गराउने पत्ता लागेको हो ।  तर यसमा चिनियाँहरुमा मात्र अध्ययन गरिएको हुँदा तिनको जीवनशैली र खानपिनका हिसाबले यो निष्कर्ष विश्वव्यापी रुपमा लागु नहुन पनि सक्ने बताइएको छ ।
यसरी कुखुरा र अण्डाको उत्पति, घरेलुकरण र अनुसन्धानपछि नै आज हामी ढुक्कसँगले अण्डा खाइरहेका छौँ । तर सबैभन्दा पछिल्लो अध्ययनले भने अत्याधिक मात्रामा अण्डाको उपभोग मुटु सम्बन्धी रोगको खतरासँग सम्बन्धित रहेको दाबी गरेको छ ।  अब यसबारे थप जानकारी पाउन अर्को वैज्ञानिक विश्लेषण नै पर्खिनुपर्ने हुन्छ ।  सीएनएनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*