माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता असोजमा
पोखरामा आगामी ५ देखि ९ असोजसम्म तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत ५० देशका १५ सय खेलाडी प्रतियोगितामा सहभागी हुने जानकारी दिएको हो ।
संघका महासचिव दीपराज गुरुङका अनुसार प्रतियोगितामा सिनियर महिला–पुरुषतर्फ आठ–आठ र जुनियरतर्फ १०–१० तौल समूहका खेल हुनेछन् । काठमाडौँमा हुँदै आएको प्रतियोगिता कोभिड महामारीका कारण गत वर्ष रोकिएको थियो । अन्तर्राष्ट्रिय तेक्वान्दो संघले प्रतियोगिता सञ्चालनका लागि हालै अनुमति दिएपछि आयोजकले मिति घोषणासँगै तयारी सुरु गरेको संघका महासचिव गुरुङले जानकारी दिए ।






