पोखरा १ र १७ मा कांग्रेसले माग्यो पुनः मतगणना

जनपत्र
१० जेष्ठ २०७९, मंगलवार १५:१७

कास्की – पोखरा महानगरपालिका१८ मा नाै मत हराएकाे भन्दै नेकपा एमालेले पुनः गणनाको माग गरेलगत्तै नेपाली कांग्रेसले पनि निवेदन दिएको छ । कांग्रेसले पोखरा १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको हो ।

वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले पुनः गणनाको माग गर्नुभएकाे हाे । पोखरा १ मा एमालेकी सहारा प्रधान ४१ मत अन्तरले विजयी हुनुभएकाे थियाे । प्रधानले एक हजार एक सय ४५ र गुरुङले एक हजार एक सय ४ मत पाउनुभएकाे थियाे ।

यस्तै वडा नम्बर १७ का कांग्रेस उम्मेदवार देवराज आचार्यले पनि पुनः गणनाको माग गर्नुभएकाे छ । आचार्यले गुरुङकै ढाँचामा निवेदन बुझाउनुभएकाे हाे । आचार्य र गुरुङ दुवैले पहिले भन्दा फरक गणक राख्न र निष्पक्ष रूपमा गणना गर्नुपर्ने माग राखेका छन् ।

वडा नम्बर १७ मा ८३ मत अन्तरले एमालेकी राधिका शाहीले चुनाव जित्नुभएकाे हाे । शाहीले दुई हजार ६ सय २५ र आचार्यले दुई हजार पाँच सय ४२ मत पाउनुभएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*