हेटौंडामा निर्माणाधीन गौरीटार रंगशालाको भौतिक पूर्वाधार निर्माण कार्य अलपत्र

जनपत्र
५ बैशाख २०७९, सोमबार ०७:४१

मकवानपुर — नेपाली खेलकुदको ड्रिम प्रोजेक्टका रूपमा हेटौंडा–६, गौरीटारमा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठान ९गौरीटार रंगशाला० को भौतिक पूर्वाधार निर्माण कार्य अलपत्र परेको छ । २०६६ सालमा शिलान्यास गरिएको रंगशाला अझै खेल्नलायक भइसकेको छैन । हालसम्म गौरीटारमा संघीय सरकारले करिब ८ करोड रुपैयाँ र वाग्मती प्रदेश सरकारले ४ करोड रुपैयाँ खर्च गरिसकेका छन् । गौरीटारमा हालसम्म फुटबल मैदान मात्र तयार भएको छ । त्यो पनि खेल्नलायक छैन ।

केन्द्रीय सरकार मातहतमा रहेको यस रंगशाला प्रदेश सरकार गठन भएसँगै मातहत ल्याउने र भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने घोषणा गरिएको थियो । विडम्बना चार वर्षको अवधिमा देख्ने गरी केही काम हुन सकेको छैन । प्रदेशका हालसम्मका तीनवटै मुख्यमन्त्रीले रंगशालाको भ्रमण गरिसकेका छन्, कामले भने गति लिएको छैन । ठेकेदार पक्षको ढिलासुस्तीका कारण फुटबल मैदान तथा एथलेटिक्सतर्फको फिल्ड एन्ड ट्र्याकले आकार लिए पनि काम अझै पूर्ण भएको छैन ।

गिरी कन्स्ट्रक्सनले ट्र्याक एन्ड फिल्डसहितको फुटबल मैदान निर्माणको काम करिब एक वर्ष ढिला गरी पूरा गरेको थियो । यो काममा पनि अझै फिनिसिङ आइसकेको छैन । २३ बिघा क्षेत्रफलमा फैलिएको खेल मैदानमा भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माणमा केही ढिलाइ हुँदा काममा समस्या भएको रंगशालाको प्राविधिक पक्षको अनुगमन गर्ने सामाजिक विकास मन्त्रालयअन्तर्गत सार्वजनिक निर्माण कार्यान्वयन इकाइका प्रमुख दीपेन्द्र सुवेदीले जानकारी दिए ।

उनका अनुसार हाल खेल मैदान, एथलेटिक्स ट्र्याक र ३५ सय सिट क्षमताको भीआईपी प्यारापिट निर्माणको काम भइरहेको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी केसीरसप्तकोसीरओमसाई एन्ड कम्पनी जेभीले निर्माण ठेक्का लिएको एक वर्षपश्चात् बल्ल कामको सुरु गरेको छ । ‘सरकारबाट २५ करोडको स्रोत सुनिश्चितता भएको छ । अहिले जारी रहेको काम सकिएपछि हामी पुनः अर्को टेन्डर निकाल्छौं ।’ प्रदेश सरकारले करिब ९० करोड रुपैयाँबराबरको भौतिक पूर्वाधार निर्माण गर्ने गरी डीपीआर तयार गरेको छ ।

हालसम्म १३ करोड रुपैयाँबराबरको मात्र टेन्डर आह्वान भएको छ । ‘यो बहुवर्षे योजना हो । क्रमशः हुँदै जान्छ । यसलाई अलपत्र भन्न मिल्दैन । खेल्नयोग्य बनाउन अझै केही समय लाग्ला,’ सुवेदीले भने । आयोजनाका इन्जिनियर प्रकाश काफ्लेका अनुसार अबको एक वर्षपछि मैदान खेल्नयोग्य हुने दाबी गरे । ‘अब बोरिङ गरेर पानी निकाल्छौं । पानी नहुँदा पनि काम गर्न समस्या भइरहेको छ,’ इन्जिनियर काफ्लेले फुटबल मैदान र एथलेटिक्सको फिल्ड एन्ड ट्र्याकको काम एक वर्षभित्रमा टुंगिने दाबी गरे । गौरीटारमा कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुषको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण गरिने बताइएको छ ।

क्लबको मैदानमा प्रदेश खेलुकद

आफू मातहतको खेल मैदान खेल्न लायकसमेत नभएपछि वाग्मती प्रदेश खेलकुद प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आयोजना गरिएको थियो । प्रतियोगिताको उद्घाटन पिप्ले युवा क्लबले १ वर्ष १६ दिनमा तयार गरेको ५ हजार सिट क्षमताको मिनी रंगशालामा गरिएको थियो । ‘ठेकेदारका कारण हामीले आफ्नो मैदानमा प्रतियोगिता गराउन सकेनौं । हामीले दुई वर्षदेखि प्रतियोगिता आयोजना गर्ने तयारी गरेका हौं । ठेकेदारले पूर्ण रूपमा बेवास्ता गरेपछि यस्तो अवस्था सिर्जना भयो,’ प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले भने, ‘आफ्नो घर समयमै नबन्दा डेरामा बस्न बाध्य भएको जस्तो अवस्था सिर्जना भयो । एउटा बोरिङमात्र खन्दिनु हामी अरू तयारी गर्छौं भनेको पनि ठेकेदारले टेरेनन् ।’ कान्तिपुर दैनिकबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*