झापा सुपर लिग क्रिकेट : पहिलो खेलमा विराटको जित

जनपत्र
४ बैशाख २०७९, आईतवार ०६:४०

झापा सुपर लिग क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।

काँकडभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा विराट क्रिकेट क्लबले विजयको सुरुआत गरेको छ ।

सनराइज काँकडभिट्टालाई सात विकेटले पराजित गर्दै विराट विजयी भएको हो ।

प्रतियोगितामा टस जितेर विराटले सनराइज काँकडभिट्टालाई व्याटिङका लागि निम्तो दिएको थियो । निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ रनको लक्ष्य खडा गर्दा अन्तर्राष्ट्रिय खेलाडी पवन सरार्फले ४३ बल खेलेर ५४ रन बनाए ।

प्रनिश विमलीले २५, भूपाल डाँगीले १९ र शुभाङ्कर उराउले १६ रन जोडे ।

बलिङतर्फ विराटका विवेक आयद, सिद्धान्त लोहनी र सुमित न्यौपानेले दुई–दुई तथा आभाष तिम्सिना र विपीन महतोले एक–एक विकेट झारे ।

सनराइजले दिएको लक्ष्य विराटले १६ दशमलव चार ओभरमा पूरा गर्‍यो । सोनु अन्सारीले ३३ बलको सामना गरेर ५४ रन जोडे ।

त्यस्तै अनिल लामिछानेले ३४, सिद्धान्त लोहनीले १६ बलमा ३३ तथा अन्तिम सुवेदीले १५ रन बनाए । बलिङमा सनराइज काँकडभिट्टाका विराट डाँगी र शुभङ्कर उराउले एक–एक विकेट लिए ।

अलराउण्डर प्रदर्शन गर्ने विजयी टोलीका सोनु म्यान अफ दि म्याच बने । क्यानका सल्लाहकार नरेश श्रेष्ठले उनलाई तीन हजार नगद पुरस्कार हस्तान्तरण गरे ।

जिल्लामै पहिलोपटक आयोजना भएको यो प्रतियोगितालाई मेचीनगरका प्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए ।

आइतबार बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्सबीच पहिलो तथा भद्रपुर राइजिङ र सनराइज काँकडभिट्टाबीच दोस्रो खेल हुने आयोजक समितिका अध्यक्ष हिमाल विकेले जनाए ।

लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजना र शिवशक्ति ग्रुपको रसोइ तोरी तेलले मुख्य प्रायोजन गरेको प्रतियोगितामा जिल्लाका पाँचवटा क्लबको सहभागिता छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*