रियल म्याड्रिडको सहज जित, एट्लेटिको स्तब्ध
स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सहज जित हात पार्दा शीर्ष चारको दौडमा रहेको एट्लेटिको म्याड्रिड स्तब्ध बनेको छ ।
रियल म्याड्रिडले घरेलु मैदानमा गेटाफेलाई २–० ले पराजित गरेको हो । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।
सान्टियागो बर्नबेउमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३८औं मिनेटमा ब्राजिली मिडफिल्डर क्यासमिरोको गोलबाट रियलले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । उनले अर्का ब्राजिली विंगर भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।
६८औं मिनेटमा स्पेनिस मिडफिल्डर लुकास भास्क्वेजले गोल गर्दै रियलको जित पक्का गरे । भास्क्वेजले रोड्रिगोको पासलाई सदुपयोग गरेका थिए ।
यो जितसँगै रियलले शीर्षस्थानमा १२ अंकको अग्रता बनाएको छ । रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम खेलेको बार्सिलोनाको ५७ अंक छ । पराजित गेटाफे ३२ अंक जोडेर १४औं स्थानमा रहेको छ ।
ला लिगाकै अर्को खेलमा एट्लेटिको म्याड्रिड रियल मलोर्कासँग १–० ले स्तब्ध बनेको छ । एट्लेटिकोलाई स्तब्ध पार्न दोस्रो हाफमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।
यो जितसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औं स्थानमा रहँदा एट्लेटिकोले दोस्रो स्थानको सेभियासँगको अंक दुरी बराबरी गर्ने मौका गुमाएको छ । एट्लेटिको ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ । सेभियाको ६० अंक छ ।एजेन्सी






