एमालेमा विधान संशोधन भए पनि सर्वसम्मत चुनिने सम्भावना कम, आकांक्षीको ताँती
एमालेको दशौं महाधिवेशन पदाधिकारी तथा केन्द्रीय सदस्यहरु सर्वसम्मत हुने चर्चा गरिए पनि आकांक्षीहरुको संख्या बढ्दै गएपछि चुनाव हुने संभावना बढ्न थालेको छ । पार्टी उपाध्यक्ष भीमबहादुर रावलले अध्यक्षमै उम्मेदवारी दिने घोषणा गरिसकेपछि अध्यक्षमा सर्वसम्मत बन्ने संभावना निकै कम भएको छ ।
अध्यक्षमै सर्वसम्मत भएन भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा समेत चुनाव हुनेछ । खासगरी पदाधिकारीमा धेरै आकांक्षी रहेका छन् । पदाधिकारीमा ५० भन्दा बढी नेताहरु आकांक्षी रहेका छन् । नयाँ र पुराना दुवैथरी नेताहरुले आकांक्षा जारी गरिहेका छन् । रावलको उम्मेदवारी घोषणापछि एमालेवृत्तमा ओलीलाई चुनौती दिएको भन्दै आलोचना र प्रशंसा दुवै भएको छ । तर पनि ओलीले मंगलबार पत्रकारहरुसँगको भेटघाटमा त्यसलाई सामान्य रुपमा लिए ।
एमालेवृत्तमा रावलले चुनाव जित्न कल्पना गरेको नभई ओलीलाई सर्वसम्मत छाड्नु हुन्न भन्ने मान्यतालाई अघि सारेको चर्चा चलेको छ । रावलले पनि आफ्नो पदीय हैसियत सुनिश्चित नभएको देखेपछि मात्रै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । यद्यपि उनी आफू सुरक्षित हुने देखेका भए यो अवस्था नआउने बताइएको छ । उनको लागि उपाध्यक्ष पद सुरक्षित भए रावल चुप लाग्न पनि सक्ने उनी निकट नेताको दाबी छ । तर त्यो संभावना निकै कमजोर रहेको ओली निकट नेताहरुले बताउँदै आएका छन् ।
एमाले महासचिव ईश्वर पोखरेलले आफ्ना लागि तयार गरेको वरिष्ठ उपाध्यक्षको पद उनका लागि फलामको च्यूरा सावित भएको छ । सुवास नेम्वाङले चुनौती दिएपछि संगठनमा खासै पकड नभएका पोखरेललाई चुनौती थपिएको हो । उनले त्यो विषयमा कुनै धारणा सार्वजनिक गरेका छैनन् । तर पनि ओलीले नेम्वाङलाई भित्रबाटै उम्मेदवारी घोषणा गर्न लगाएका हुन कि भन्ने त्रास उनमा कायमै छ ।
पदाधिकारी व्यवस्थापनका लागि एमालेभित्र विधान संशोधनको तयारी भए पनि निर्वाचन हुने भएमा विधान संशोधन नहुने खतरा पनि उत्तिकै रहेको छ । तर पोखरेल आफू असुरक्षित हुने भएमा जसरी पनि विधान संशोधन गर्न लगाउने संभावना बढेको छ । सर्वसम्मति प्रयास सफल नभए एमाले दशौँ महाधिवेशनमा ५० जनाले पदाधिकारी र करिब ५ सय जनाले केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दिने संभावना रहेको छ । अहिले पदाधिकारीका लागि पुराना तथा नयाँ नेताहरुले दाबी गरिहेका छन् ।
अध्यक्षमा केपी शर्मा ओली, भीम रावल, आवश्यक परेमा घनश्याम भुषालको पनि अध्यक्षमै उम्मेदवारी रहनेछ । भुषाललाई कहीँ कतै समेट्ने कोसिस भएन भने उनले अध्यक्ष वा महासचिवमा उम्मेदवारी दिनेछन् । तर भुषालका लागि उपाध्यक्ष पद सुरक्षित भए उनी चुपचाप बस्न सक्ने संभावना पनि रहेको स्रोतको दाबी छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङकै भिडन्त पर्ने देखिन्छ । वरिष्ठ उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दिने बताइएको छ । तर शाक्यलाई ओलीले उपाध्यक्षमा व्यवस्थापन गर्ने संभावना पनि उत्तिकै रहेको छ ।
मंगलबारसम्मको परिस्थिति हेर्ने हो ओलीले वरिष्ठ उपाध्यक्षमा पोखरेल र नेम्वाङलाई दुवैलाई भिडाउन खोजेको बुझिन्छ । त्यसैगरी उपाध्यक्षमा हालका नेताहरु दोहोरिने भन्दा पनि नयाँ अनुहारहरु आउने संभावना बढिरहेको छ । हालका उपाध्यक्ष युवराज ज्ञवालीलाई कुनै आयोगको अध्यक्ष बनाउने र उनको स्थान खाली गर्न सक्ने संभावना रहेको छ ।
उपाध्यक्षको संख्या बढाउनकै लागि विधान संशोधनबारे छलफल भैरहेको छ । उपाध्यक्षमा हाल अष्टलक्ष्मी शाक्य, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, सत्यनारायण मण्डल, लालबाबु पण्डित, रघुजी पन्त, छविलाल विश्वकर्मा, राधा ज्ञावाली, सीता पौडेल, माओवादी बाट आएका रामबहादुर थापा बादल लगायतका धेरै नेताहरु आकांक्षी रहेका छन् ।
त्यसमध्ये महासचिवमा दावी गरिहेका पृथ्वी सुब्बा गुरुङलाई उपाध्यक्षमा व्यवस्थापन गर्ने संभावना रहेको छ । उनीहरुलाई मात्र विधान संशोधन भए उपाध्यक्षको संख्या पाँचबाट सात हुनेछ । त्यसैगरी महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङले दाबी गरिरहेका छन् । त्यसमध्ये सुरेन्द्र पाण्डेलाई उपाध्यक्षमा व्यवस्थापन गर्ने संभावना रहेको छ ।
विष्णु पौडेल र शंकर पोखरेलमध्ये ओलीको रोजाइमा को हुन्छ भन्ने अझै यकिन छैन । त्यसैगरी प्रदीप ज्ञवाली पनि महासचिव दाबी गरेका कारण उनका लागि उपमहासचिव सुरक्षित हुने संभावना उत्तिकै रहेको छ । उपमहासचिव पद एउटा मात्रै भएकाले विधान संशोधन गरेर वा तीन बनाउने संभावना पनि रहेको छ ।
हालका उपमहासचिव घनश्याम भुषाललाई पनि पुरानै पद दोहोर्याउने अवस्था आए तीन पद हुने संभावना बढेको छ । त्यस्तै पौडेलको स्थानमा पोखरेललाई महासचिव बनाउनु पर्ने अवस्था आए पौडेललाई उपाध्यक्षतिर पठाउने संभावना रहेको छ ।तर ओलीको रोजाइमा पौडेल नपरे पौडेलले महासचिवमा उम्मेदवारी दिने संभावना रहेको छ । पौडेलको महासचिवमा उम्मेदवारी परे नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने संभावना रहेको एमालेका उच्च नेताहरुले दाबी गरेका छन् ।
‘पौडेल नेम्वाङ मिलेमा महासचिव र वरिष्ठ उपाध्यक्ष दुवै पद हात लाग्ने अवस्था रहेको छ’, स्रोतले भन्यो ‘यदि यस्तो अवस्था आएमा शंकर पोखरेलले उपमहासचिवमा चित्त बुझाउने छन् ।’ सबैभन्दा बढी आकांक्षी सचिवमा रहेका छन् । धेरैजसोले उम्मेदवारी पनि घोषणा गरिसकेका छन् । नवौँ महाधिवेशनबाट प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य र पृथ्वीसुब्बा गुरुङ सचिव पदमा निर्वाचित थिए ।
ज्ञवाली र गुरुङको व्यवस्थापन उपाध्यक्ष या उपमहासचिवमा हुन नसके अध्यक्ष ओली उनीहरूलाई पुरानै पदमा दोहोर्याउने पक्षमा छन् । विष्ट, भट्टराई र आचार्य पनि त्यसभन्दा माथिल्लो पदका लागि स्वाभाविक दाबेदार भए पनि अहिलेलाई सोही पदमा दोहोर्याउने संभावना रहेको छ ।
‘सिनियर’ नेताहरूकै व्यवस्थापनका लागि अहिलेकै पदमा दोहोरिने भट्टराईले बताएका छन् । आफू अझ खारिनका लागि एकपटक सचिवमै उठ्ने उनले बताएका छन् । अर्को पटकलाई महासचिव उठ्ने गरी अहिलेलाई पार्टी काममा थप खारिने उनको लक्ष्य छ । उनले ‘सेफ ल्याण्डिङ’ खोजेको पनि विष्लेषण भइरहेको छ ।
आचार्य र विष्ट पनि समकालीन दोहोरिएको अवस्थामा सहमतिमा पुरानै पदमै दाहोरिने सम्भावना रहेको छ । नयाँ आकांक्षीका रूपमा विष्णु रिमाल, रघुवीर महासेठ र किरण गुरुङ सचिवको दाबेदार हुन् । नवौँ महाधिवेशनमा सचिवको उम्मेदवारबाट ओलीको निर्देशनमा ‘ब्याक’ भएका भानुभक्त ढकाल, खगराज अधिकारी र छविलाल विश्वकर्मा सचिवका नयाँ आकांक्षी छन् ।
डा। राजन भट्टराई, पार्वत गुरुङ, ठाकुर गैरे, आनन्दप्रसाद पोखरेल, शेरधन राई, गोकुल बाँस्कोटा, महेश बस्नेतसहित अरू थप केही केन्द्रीय सदस्यले पनि सचिवको दाबी गरेका छन् । यसमध्ये विश्वकर्माको व्यवस्थापन उपाध्यक्षमा भए अन्यको दाबी कायमै रहने छ ।
महिला र पूर्वमाओवादीका तर्फबाट आकांक्षी रहेका छन् । महिलाबाट सबैभन्दा सिनियर केन्द्रीय सदस्य बिन्दा पाण्डे र थममाया थापा पनि सचिवका आकांक्षी छन् । पूर्वमाओवादी समूहबाट सर्वसम्मत हुँदा टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि सचिव पदका दाबेदार हुन् ।
प्रतिनिधिको कम्तीमा एकतिहाइ संख्या केन्द्रीय सदस्यको उम्मेदवार बन्ने सम्भावना देखिएको छ । यसैलाई आँकलन गरेर एमालेले निर्वाचनको तयारी पनि गरेको छ। आकांक्षीको संख्या उच्च छ। तर उम्मेदवारी मनोनयनसम्म पुग्दा संख्या स्वात्तै घट्न पनि सक्छ । अझ बढ्न पनि सक्ने संभावना रहेको छ । हाम्राकुराबाट