दुहबी सबस्टेशन सञ्चालनमा, ३८ घण्टापछि पूर्वी नेपालमा बिजुली आपूर्ति सुरु

जनपत्र
४ कार्तिक २०७८, बिहीबार १४:३५

unn.prixa.net

काठमाण्डाै – अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीमा रहेको एक सय ३२ केभी सबस्टेशन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण गएकाे मङ्गलवार राति साढे ८ बजेदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर आज बिहीवार बिहान साढे १० बजेदेखि सञ्चालनमा ल्याइएको छ ।

‘हाम्रो टिमको रात/दिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेशनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौँ’, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, ‘अब दुहबी सबस्टेशनबाट निकालिएका लाइनको क्रमशः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिरहेका छौँ ।’

प्रदेश नम्बर १ का जिल्लाहरूमा विद्युत् आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेशन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत् आपूर्ति बन्द भएको थियो । सबस्टेशन सञ्चालनमा आएसँगै अहिले धेरैजसाे ठाउँको विद्युत् आपूर्ति सुरु भइसकेको छ ।

अत्तरिया–चमेलिया प्रसारण लाइन पनि सञ्चालनमा 

वर्षाका कारण विभिन्न ठाउँमा रुख ढल्दा बन्द भएको अत्तरिया (कैलाली)–चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । अवरोधलाई हटाएर आजदेखि प्रसारण लाइन सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पर्ने धेरैजसाे भागमा विद्युत् आपूर्ति सुरु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*