एनएसएलको प्रत्यक्ष प्रसारण एपीवानमा
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग ‘एनएसएल’ को प्रत्यक्ष प्रसारण एपीवान एचडी टेलिभिजनले गर्ने भएको छ।
बिहीबार भएको कार्यक्रममा आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टका निर्देशक श्रेयांस कार्की र एपीवान टेलिभिजनका निर्देशक सच्चन थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार एनएसएलका सबै खेल एपीवान टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा वैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा नेपाल सुपर लिग फुटबल हुँदैछ। पहिलो संस्करणको लिगमा सात फ्रेन्चाइज टिमको सहभागिता रहने छ।
लिगमा विराटनगर सिटी, काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी फुटबल एफसीले प्रतिस्पर्धा गर्ने छन्। राउन्ड रोबिन लिगको आधारमा हुने लिगमा कुल २५ खेल हुने छन्। खेलाडी छनोटका लागि शुक्रबार अक्सन हुँदैछ। लिगमा विदेशी खेलाडीलाई पनि खेलाउन पाइने छ।






