हेटौंडामा नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा आज देखि नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आजदेखि हेटौंडामा उक्त प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले खेल क्षेत्रमा स्थानीय सरकारले सक्दो सहयोग गरेको वताउनुभयो । खेलकुदका पूर्वाधार निर्माण र खेलकुद प्रतियोगिताका लागि सहयोग गरिएको मेयर महतले वताउनुभयो ।
हेटौंडा–४ हुप्राचौर खेलमैदानमा सुरु भएको प्रतियोगिता आगामी फागुन २२ गतेसम्म संचालन हुने आयोजकले जानकारी गराएको छ । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, हेटौंडा ४ का वडा अध्यक्ष नबिन सिग्देल, हेटौंडा १२ का वडा अध्यक्ष ललित घलान, हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदी लगायतकाको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ १३ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, विधागत उत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ नगदसहित पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।