चीनले रोक्यो एन्ट ग्रूपको आईपीओ
चीनले घरेलु अनलाइन कम्पनी अलिबाबासम्बद्ध वित्तीय प्रविधि कम्पनी एन्ट ग्रूपको बहुप्रतीक्षित शेयर सूचीकरण स्थगन गरेको छ । कम्पनीको प्राथमिक शेयर निस्कासनको एक दिनअघि यस्तो कदम चालिएको हो । बिहीवार शाङहाई र हङकङमा कम्पनीको प्राथमिक शेयर निस्कासन ९आईपीओ० जारी हुँदै थियो । यस आईपीओबाट ३७ अर्ब डलर उठ्ने र यो अहिलेसम्मकै ठूलो आईपीओ बन्ने क्रममा थियो । कम्पनीको आईपीओमा संस्थागत तथा साना लगानीकर्ताको धेरै आकर्षण देखिएको थियो ।
उक्त आईपीओमा मुख्य समस्या रहेको र यसले कम्पनीको सूचीकरणका शर्तहरू वा शेयर बजारमा शेयर किनबेचका आवश्यकताहरू पूरा नहुने देखिएकाले स्थगन गरिएको मंगलवार अबेर राति एक विज्ञप्ति जारी गर्दै शाङहाई स्टक एक्सचेञ्जले बताएको छ । चिनियाँ केन्द्रीय बैंक र चीन सरकारका अन्य अधिकारीले वार्ताका लागि सोमवार एन्ट ग्रूपका संस्थापक ज्याक मा र अन्य कार्यकारीहरूलाई बताएलगत्तै आईपीओ स्थगित भएको हो । शाङ्हाई स्टक एक्सचेञ्जले स्वनियमनको जिम्मेवारी पूरा गरेको चीनको विदेश मामिला मन्त्रालयका प्रवक्ता वाङ वनपिनले बुधवार पत्रकार सम्मेलनमा बताएका थिए । चीनको वित्तीय बजारको स्थायित्व सुरक्षित गर्न र लगानीकर्ताको अधिकार र रुचि जोगाउन यस्तो कदम चालिएको उनको भनाई छ । एजेन्सी







