कोरोना विश्वको अन्तिम महामारी होइन !

जनपत्र
१८ कार्तिक २०७७, मंगलवार ०६:२३

हामीले जङ्गली जीवजन्तुबाट मान्छेसम्म संक्रमण हुने रोगहरुका लागि एकदम उचित वातावरण सिर्जना गरेकाले नै यस किसिमका भाइरस अब विश्वमा झन धेरै र छिटो फैलने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । प्रकृतिमा मान्छेको बढ्दो हस्तक्षेपले नै सो प्रक्रियालाई तिव्र बनाइरहेको उनीहरुले बताए ।

नयाँ रोगहरु कसरी र कहाँबाट उत्पति हुन्छन् भन्ने सम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएका विश्वभरका यी स्वास्थ्यविद्हरुले अहिले कुन जीवजन्तुबाट निस्कने रोग मान्छेका लागि सबैभन्दा खतरनाक हुन्छ भन्ने पत्ता लगाउन एक पहिचान प्रणालीको विकास गर्नमा लागि परेका छन् । युनिभर्सिटी अफ लिभरपुलका वैज्ञानिकहरुको नेतृत्वमा, मान्छेलाई भविष्यका महामारीका लागि तयार राख्ने प्रयास स्वरुप उनीहरुले यो खोज सुरु गरेका हुन् ।

लिभरपुलका प्रमेफेसर म्याथ्यु बेलिस भन्छन्, “पछिल्लो २० वर्षमा हामीले ६ उल्लेखनीय खतराहरुको सामना गरिसकेका छौँ – सार्स, मर्स, इबोला, एभियन इन्फ्लुएन्जा र स्वाइन फ्लु । हामी ६ पटक यस्ता संकटबाट बच्यौँ । र अहिलेको कोभिड–१९ पनि अन्तिम महामारी होइन । हामीले अझै यस्ता धेरै ठूला आपत्को सामना गर्नुपर्ने हुन सक्छ जसकारण पनि वन्यजन्तु सम्बन्धी रोगलाई नजिकबाट अध्ययन गर्न आवश्यक छ । ”

विज्ञानलाई थाहा भएका हजारौँ ब्याक्टेरिया, प्यारासाइट र भाइरसहरु मध्ये उनीहरुले विकास गरेको प्रणालीले तिनले कति सङ्ख्यामा र कस्तो प्रजातिलाई संक्रमित गराउँछन् भन्ने आधारमा किटाणुको पहिचान गर्नेछ । यसबीच कुनै ‘प्याथोजेन’ प्राथमिकतामा राख्नुपर्ने अवस्था आएमा वैज्ञानिकहरुले तुरुन्तै त्यस सम्बन्धी अनुसन्धान गर्न सुरु गर्नेछन् र रोग निस्कनु अगाडि नै यसबाट बच्ने उपाय अनि उपचार विधिको खोज सुरु गर्नेछन् । प्रोफेसर बेलिस भन्छन्, “यो रोग रोकथाम सम्बन्धी अर्को ठूलो सुरुवाती कदम बन्न सक्नेछ । ”

धेरै वैज्ञानिकहरु मान्छेको व्यवहार, विशेषगरी वन फडानी र जङ्गली जीवजन्तुसँगको बढ्दो सम्पर्कले नै रोगहरुलाई जनावरबाट मान्छेसम्म सार्न मद्दत पुर्याइरहेको कुरामा सहमत छन् । युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर केट जोन्सका अनुसार मान्छेद्वारा परिवर्तित कम जैविक विविधतायुक्त पर्यावरण जस्तै ‘खेती र पशुपालन’ लाई संक्रमणप्रति मान्छेको बढ्दो खतरासँग जोड्ने गरिएको छ । उनले भनिन्, “यो सबै रोगमा अनिवार्य लागू हुँदैन । तर वन्यजन्तुका केही प्रजातिहरु जो मानव हस्तक्षेपसँग परिचित छन्, उदाहरणका लागि विशेष प्रजातिका मुसा – प्याथोजेन फैलाउनमा प्रभावकारी होस्टका रुपमा काम गर्न सक्छ । यस्तोमा जैविक विविधता गुमाउनुले मान्छे र जङ्गली जीवजन्तुबीचको जोखिमपूर्ण सम्पर्क बढाउँछ र केही भाइरस र ब्याक्टेरियामा संक्रमणको अवसर पनि वृद्धि गराउँछ । ”

मान्छे र वन्यजन्तुबीचको गतिविधिले नै अप्रत्याशित रोग निम्त्याउने यस्ता प्रशस्तै उदाहरण छन् । जस्तै १९९९ मा पहिलोपटक मलेशियामा सुरु भएको ‘निम्फा’ भाइरसको प्रकोप, जङ्गलको नजिकै बनाइएको एउटा ठूलो सुँगुर फार्ममा एक प्रजातिको चमेराबाट सुरु भएको थियो । जङ्गली चमेराहरुले त्यहाँका फल खाँदैगर्दा आधा खाएर छाडेका तिनै फल सुँगुरले खाएपछि संक्रमित सुँगुरसँग नजिकी सम्पर्कमा रहेका २५० भन्दा बढी कामदार भाइरसको शिकार बनेका थिए । ती मध्ये १०० भन्दा धेरैको मृत्यु पनि भएको हो । अहिले कोरोना भाइरसको सम्भावित मृत्युदरलाई १ प्रतिशतमा राखिएको छ जबकी निम्फा भाइरसले भने यसबाट संक्रमित हुने ४०–७५ प्रतिशत मान्छेको ज्यान लिने गर्दछ ।

प्रोफेसर एरिकका अनुसार यस्तो हुन नदिन वैज्ञानिकहरुले रोग उत्पन्न हुने उच्च जोखिम रहेका क्षेत्रलाई निरन्तर निगरानीमा राख्नुपर्दछ । जस्तै कि जङ्गलको फेदमा रहेका फार्म, जीवजन्तु बेचविखन हुने बजार लगायत मान्छेसँग वन्यजन्तु सम्पर्कमा आउने सबै ठाउँ सम्भावित खतराका स्थल हुन् ।

उनी भन्छन्, “ती ठाउँमा कुनैपनि असामान्य कुरा फेला परेका, जस्तै रोग उत्पन्न भएको पाइएमा तुरुन्तै त्यसतर्फ ध्यान दिनुपर्छ ।” प्रत्येक वर्ष मान्छेमा तीनदेखि चारपटकसम्म यस्ता नयाँ रोगहरु देखा पर्ने गर्दछन् । त्यसैले अहिले सञ्चालित वैज्ञानिक रेखदेखका काम अधिक महत्वपूर्ण भएको बेलिसले बताए । उनले भनका छन्, “हामीले ‘प्यान्डेमिक’ का लागि एकदम उपयुक्त वातावरण सिर्जना गरेकाले नै डराउनुपर्ने अवस्था आएको हो । ” त्यसैले यस्तो घटना फेरि दोहोरिने प्रबल सम्भावना रहेको हुँदा अहिलेको महामारीबाट मान्छेले प्राकृतिक दुनियाँमा हस्क्षेप गर्नुको परिणामबारे पाठ सिक्न जरुरी रहेको प्राफेसर फेभ्र बताउँछन् । बिबिसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*