कोरोना संक्रमणको दोस्रो लहर: युरोपियन देशहरुले लगाउन थाले नयाँ प्रतिबन्ध

जनपत्र
२९ आश्विन २०७७, बिहीबार ०७:१३

युरोपका केही देशमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहरका कारण यात्रा तथा जमघटमा नयाँ प्रतिबन्ध लगाइएको छ। फ्रान्सले स्वास्थ्य आपतकाल घोषणा गरेको छ। फ्रान्ससहित नेदरल्याण्ड्स, स्पेनलगायत देशले हिँडडुलमा आंशिक प्रतिबन्ध लगाएका छन्।

फ्रान्सले राजधानी पेरिससहित नौ वटा शहरमा राति निशेधाज्ञा लगाएको छ। निशेधाज्ञा जारीपछि राष्ट्रपति इमैनुएल माक्रोले कोरोनाभाइरस नियन्त्रणका लागि राति ९ बजेदेखि बिहान ६ बजेसम्म घरमा नै बस्नुपर्ने बताए। राष्ट्रपति माक्रोले टेलिभिजन अन्तर्वार्ता दिँदै शनिबारदेखि लागू हुने निशेधाज्ञा कम्तीमा चार हप्ता जारी रहने बताएका छन्। बुधबार फ्रान्समा कोरोनाका २२ हजार ९५१ नयाँ संक्रमित फेला परेका छन् भने १०४ जनाको मृत्यु भएको छ।

नेदरल्याड्समा पनि स्थानीय समयअनुसार राति १० बजेपछि आंशिक बन्दाबन्दी लागू गरिएको छ। पछिल्लो २४ घन्टामा त्यहाँ सात हजार २८७ नयाँ संक्रमित भेटिएका छन्। ३१ जनाको मृत्यु भएको छ। यसअघि बुधबार स्पेनको उत्तरपूर्वी क्षेत्र क्याटलोनियामा आजबाट बार तथा रेस्टुरेन्ट १५ दिनसम्म बन्द गर्ने घोषणा गरिएको थियो। स्पेनमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २०९ जनाको मृत्यु भएको छ।
उता चेक रिपब्लिकमा विद्यालय र बार पुनः बन्द गरिएको छ। पछिल्लो दुई हप्तामा युरोपमा सबैभन्दा बढी संक्रमित चेक रिपब्लिकमा नै भेटिएका छन्। यहाँ उक्त अवधिमा प्रत्येक एक लाखमा करीब ५८२ जनामा संक्रमण देखिएको थियो।

पूरै युरोपमा कोरोना संक्रमणको दरमा वृद्धि शुरु भएको छ। रुसमा बुधबार १४ हजार ३२१ नयाँ संक्रमित पत्ता लागे। बेलायत, जर्मनीलगायत देशमा पनि नयाँ संक्रमित भेटिने क्रम बढेको छ।
(बीबीसीबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*