कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या १० लाखभन्दा बढी
कोरोनाबाट विश्वभर १० लाख भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । शनिबार मात्र तीन हजार ८५२ जनाले ज्यान गुमाएसँगै विश्वभर मृतकको संख्या १० लाख दुई हजार १३७ पुगेको छ।
कोरोनाबाट अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। त्यहाँ दुई लाख नौ हजार ४५३ जनाको मृत्यु भएको छ। त्यसपछि ब्राजिलमा एक लाख ४१ हजार ७७६ र भारतमा ९५ हजार ५७४ जनाको मृत्यु भएको तथ्यांक छ।
पछिल्लो २४ घन्टामा भारतमा सबैभन्दा धेरै एक हजार ४० जनाको मृत्यु भएको बताइएको छ। मेक्सिकोमा ३९९, ब्राजिलमा ३३५ र अमेरिकामा २७६ जनाको मृत्यु भएको छ। भारतमा १ सेप्टेम्बरमा मात्र ३२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
हाल विश्वभर ७६ लाख ६५ हजार ४७९ जना कोरोनाका उपचाररत संक्रमित छन् । तीमध्ये ६५ हजार ३६७ जना गम्भीर छन्। हालसम्म विश्वका तीन करोड ३२ लाख ९७ हजार ५०३ जना कोरोना संक्रमित छन्। जस मध्ये दुई करोड ४६ लाख २९ हजार ८८७ जना निको भएका छन्। नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । यहाँ ५३ हजार ८९८ जना निको भएका छन् भने ४७७ जनाको मृत्यु भएको छ ।







