बंगलादेशबाट पैंचो मल ल्याउने जिम्मा कृषि सामग्री कम्पनीलाई
नेपाल सरकारले बंगलादेशसँग पैचोंमा लिन लागेको ५० हजार टन युरिया मल नेपाल ल्याउने जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले उक्त मल नेपाल ल्याउन शनिवार ठेक्का आह्वान गरेको छ ।
धानबालीका लागि युरिया मलको चरम अभाव भएपछि सरकारले बंगलादेशसँग मल पैंचो लिने प्रक्रिया अगाडि बढाएको थियो । ३ साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग यसबारेमा टेलिफोन संवाद गरेपछि बंगलादेशबाट मल ल्याउने प्रक्रियाले थप गति लिएको थियो ।
बिहीवारको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडलाई दिएपछि मल नेपाल ल्याउन ठेक्का आह्वान गरिएको हो । मन्त्रिपरिषद् बैठकमा मल ल्याउने जिम्मेवारी कृषि सामग्री वा साल्ट ट्रेडिङ कसलाई दिने भन्ने बारेमा लामै बहस भएको थियो । कृषिमन्त्री घनश्याम भुसाल यो जिम्मेवारी कृषि सामग्रीलाई दिनुपर्ने पक्षमा उभिएपछि त्यसैअनुरूप निर्णय भएको हो ।
कृषि सामग्री कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार बंगलादेशको चिटगावबाट मल नेपाल ल्याइँदै छ । ठेक्का आवेदन दिन ७ दिनको म्याद राखिएको छ भने ठेक्का सम्झौतालगायत सबै प्रक्रिया पूरा हुन करीब २५ दिन लाग्न सक्ने बताइएको छ ।
यसअनुसार पैंचो मल नेपाल आउन अझै करीब १ महीनाभन्दा बढी समय लाग्ने देखिएको छ । ठेक्का पाउने कम्पनीले नै बोरा छपाइ र मल प्याकेजिङलगायत काम गर्नुपर्ने शर्त राखिएको छ ।
कृषि मन्त्रालयका अनुसार बंगलादेशले आफूलाई आवश्यक पर्ने करीब १० लाख टन मल मौज्दात गरेको छ । त्यही मौज्दातबाटै उसले नेपाललाई मल उपलब्ध गराउँदै छ । यसरी ल्याइएको मल नेपालले पछि ग्लोबल टेन्डर गरी ८ महीनाभित्र बंगलादेशलाई फिर्ता गर्ने योजना कृषि मन्त्रालयको छ । मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीका अनुसार नेपालसम्म मल आयात गर्न अहिले मन्त्रालयले तीनओटै विकल्प ९समुद्रीमार्ग, रेलमार्ग र थलमार्ग का बारेमा गृहकार्य गरिरहेको छ ।
‘जुन मार्गमार्फत ल्याउँदा सस्तो र छिटो हुन्छ, त्यही मार्ग प्रयोग गर्ने मन्त्रालयको योजना छ,’ उनले भने । यसअघि ५० हजार मेट्रिकटन युरिया मल आयात गर्ने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले सम्झौताबमोजिम मल नल्याउँदा अहिले मुलुकभर युरिया मलको चरम अभाव छ ।
हाल कृषि सामग्री कम्पनीसँग युरिया मलको मौज्दात शून्य छ भने डीएपी र पोटास ३ हजार २ सय मेट्रिकटन मौज्दात रहेको छ । कम्पनीले थप ३० हजार मेट्रिक टन युरिया मलको टेन्डर भर्खरै आह्वान गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनसँग भने अहिले युरिया १० हजार मेट्रिकटन, डीएपी ९ हजार मेट्रिकटन र पोटास ५ सय मेट्रिकटन मौज्दात छ ।
साल्ट ट्रेडिङले यसअघि ल्याउन थालेको ३२ हजार ५ सय मेट्रिकटन युरियामध्ये हालसम्म २७ हजार ५ सय मेट्रिकटन मल नेपाल आइपुगेको छ भने ५ हजार मेट्रिकटन आउन बाँकी नै छ । ‘अबको १० दिनमा यो पनि नेपाल आइपुग्छ,’ साल्ट ट्रेडिङका सहायक प्रबन्धक पंकज जोशीले भने । यसबाहेक साल्ट ट्रेडिङले चालू आर्थिक वर्षको बजेटबाट ३० हजार मेट्रिकटन थप युरिया आयातका लागि टेन्डर आह्वान गरेको छ । त्यस्तै, उसले ल्याउन लागेको २० हजार मेट्रिकटन डीएपी मलमध्ये ७ हजार ६ सय मेट्रिकटन कोलकाता आइपुगेको छ । अभियानडेलीबाट







