भारतका रेलमन्त्रीको गलत भनाइ, नेपालले रेल आफैं किनेको हो भारतले दिएको होइन
भारतका रेलमन्त्री पीयूस गोयलले नेपाललाई भारतले दुईवटा रेल दिएको बताएका छन् । तर उनले दिएको धारणा गलत देखिएको छ । सामाजिक सञ्जालमार्फत गोयलले यस्तो धारणा रोखका थिए । तर उनले भनेजस्तो रेल भारतले दिएको नभइ भारतले रेलमार्ग मात्रै बनाइदिएको हो । जयनगर–जनकपुर रेलमार्ग बनाउन भारतले सात अर्बरुपैयाँ अनुदान दिने सम्झौता भएको थियो ।
रेल भने नेपालले ८४ करोड ६५ लाखमा किनेको हो । भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङले पनि शनिबार भारतसँग नेपालले ८४ करोड ६५ लाखमा रेल खरिद गरेको बताएका छन् ।
“नेपालले भारतीय रेल कम्पनी केआरसीएलबाट रु ८४ करोड ६५ लाखमा खरिद गरेको डेमु २ सेट रेल जनकपुर ल्याई टेस्टिङ र कमिसनिङ गरियो । जयनगर–जनकपुर रेलमार्ग निर्माण सहयोगका लागि भारत सरकारलाई धन्यवाद १ यस्ता सहकार्यले दुई देशका जनता थप लाभान्वित हुनेछन् र हाम्रा सम्बन्धहरु झन् प्रगाढ बन्दै जानेछन्,” उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।







