भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो
भारतमा कोरोना संक्रममणका कारण हालसम्म ८० हजार ७७६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा ८३ हजार ८०९ संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा ९२ हजार ७१ कोरोना संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ । भारतमा हालसम्म ४९ लाख ३० हजार २३६ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ । भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।
भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ । दैनिक ९६ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर बढ्दै गइरहेको छ । लकडाउन–लुज डाउनको नीति अख्यिार गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।
९६ हजार ५५१ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए ।







