रुस, चीन र इरानका ह्याकरको निशानामा अमेरिकी चुनाव
रुस, चीन र इरानसँग साँठगाँठ रहेका ह्याकरहरुले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावसँग जोडिएका व्यक्ति तथा समूहलाई निशाना बनाएको माइक्रोसफ्टले जनाएको छ । सन् २०१६ को चुनावमा दखल दिएका रुसी ह्याकरहरु फेरि यसपटक पनि सक्रिय भएको माइक्रोसफ्टको भनाई छ। रुसी ह्याकरले चार वर्षअघि डेमोक्र्याटिक चुनावी अभियानलाई निशाना बनाएका थिए र अहिले पनि सोही प्रकृतिको गतिविधि देखिन थालेको माइक्रोसफ्टको भनाई छ ।
विदेशी समूहहरु अमेरिकी चुनावमा दखल दिन सक्रिय बनेको स्पष्ट भएको माइक्रोसफ्टले बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको चुनावी अभियानहरु ह्याकरको निशानामा आएका हुन् । रुसी ह्याकरले डेमोक्र्याटिक र रिपब्लिकन पार्टीसँग सम्बन्धित २०० भन्दा बढी संस्थालाई निशाना बनाइरहेको माइक्रोसफ्टले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
सोही समूहका साइबर आक्रमणकारीले बेलायती राजनीतिक पार्टीलाई पनि निशाना बनाएको उल्लेख छ। यस्तै चिनियाँ ह्याकरले बाइडेनको चुनावी अभियानसँग जोडिएका व्यक्तिहरुलाई निशाना बनाइरहेको माइक्रोसफ्टले जनाएको छ । इरानका ह्याकरहरुले ट्रम्पको चुनावी अभियानसँग जोडिएका व्यक्तिलाई निशाना बनाउने क्रम जारी राखेका छन् ।







