विश्वमा दुई लाख ३८ हजार संक्रमित थपिए, ४२ सयको मृत्यु

जनपत्र
२४ भाद्र २०७७, बुधबार ०६:४१

विश्वमा पछिल्लो २४ घण्टाभित्र दुई लाख ३८ हजार २०८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा चार हजार २४० जनाको मृत्यु भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७७ लाख ७६ हजार २६१ र मृत्यु हुनेको संख्या नौ लाख ७९६ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ८९ हजार ८५२ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार १०७ जनाले ज्यान गुमाएका हुन्।

पछिल्ला केही दिन दैनिक संक्रमण घट्दै आएको अमेरिकामा आज भने संक्रमणदर बढेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार ८८३ नयाँ संक्रमित थपिएका छन्। जुन मंगलबार थपिएका संख्याको तुलनामा करिब एक हजारले बढी हो। अमेरिकामा थप ४४४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। ब्राजिलमा १७ हजार ३३० जना नयाँ संक्रमित थपिँदा ५१६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र अर्जेन्टिनामा १२ हजार २७, फ्रान्समा ६ हजार ५४४, कोलम्बियामा सात हजार ६६५, मेक्सिकोमा तीन हजार ४८६ तथा रसियामा पाँच हजार ९९ जना नयाँ संक्रमित थपिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*