अमेरिकाले भन्याे, ‘डब्ल्यूएचओकाे नेतृत्वमा हुन लागेकाे काेराेना खाेपकाे खाेजीमा सहभागी हुँदैनाैँ’
अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओको’ अगुवाइमा हुन लागेको कोरोनाविरुद्धको खोपको खोजी, उत्पादन र वितरणको विश्वव्यापी प्रयासमा सहभागी नहुने जनाएको छ । कोरोना भाइरसविरुद्धको खोपको विश्वव्यापी पहुँच स्थापित गर्ने अभियानमा अहिले डब्ल्यूएचओको नेतृत्वमा एक सय ७० भन्दा धेरै देशले प्रयास थालिरहेका छन् । तर यो अभियानमा अमेरिकाले आफू सहभागी नहुने जनाएको हो ।
वाशिङटन पोस्ट अखबारका अनुसार सुरक्षित र प्रभावकारी खोपको मञ्जुरी पाइसकेपछि र त्यसको इजाजत पत्र पाइसकेपछि सबै मानिससम्म खोपको न्यायसङ्गत पहुँच सुनिश्चित गराउने डब्ल्यूएचओको नेतृत्वमा अमेरिका सहभागी नहुने भएको हो । ट्रम्प प्रशासनका केही सदस्यहरुको रुचि भए पनि ह्वाइट हाउसले डब्ल्यूएचओसँग काम गर्न इच्छुक नभएको बताएको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसका प्रवक्ता जड डीरेले एक विज्ञप्ति निकाल्दै भन्नुभएको छ, अमेरिका भाइरसको हार सुनिश्चित गर्नको लागि आफ्नो अन्तर्राष्ट्रिय सहयोगीसँग मिलेर काम गरिरहनेछ तर भ्रष्ट विश्व स्वास्थ्य सङ्गठन र चीनबाट प्रभावित मल्टिलेटरल संस्थाको दबाबमा आउने छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ‘कठपुतली’ बनेको भन्दै डब्ल्यूएचओको आलोचना गर्दै आउनुभएको छ । उहाँले महामारी नियन्त्रणमा डब्ल्यूएचओ चीन केन्द्रित भएको पनि आरोप लगाउनुभएको छ ।






