बंगलादेशबाट युरिया मल पैंचोमा : तत्काल आपूर्तिका लागि प्रम ओलीद्वारा आफ्ना बंगलादेशी समकक्षीलाई आग्रह
मुलुकभित्र युरिया मलको चरम अभाव हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बंगलादेशी समकक्षी शेख हसिनासँग नेपालका लागि तत्काल युरिया आपूर्तिका लागि अनुरोध गर्नुभएको छ । मंगलवार दिउँसो बंगलादेशकी प्रधानमन्त्री हसिनासँगको टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीबाट सो आग्रह भएको हो । ‘बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धका बारेमा छलफल भएको तथा नेपालमा युरिया मल तत्काल आपूर्ति गर्न गरेको अनुरोधलाई बंगलादेशकी प्रधानमन्त्रीले सकारात्मक रूपमा लिनुभएको’ प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरमार्फत बताउनुभएको छ ।
दुवै देशका प्रधानमन्त्रीबीच टेलिफोन त्यस्तो बेला भएको छ, जब धान रोपाइँपछि युरिया मल अत्यावश्यक भएको समयमा मलको अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचोमा मल लिने प्रक्रिया अगाडि बढाएको छ । तत्कालको अभावलाई सम्बोधन गर्न ५० हजार टन युरिया बंगलादेशबाट सापटीका रूपमा लिने तयारीमा सरकार छ ।
कृषि मन्त्रालयले बंगलादेशबाट ५० हजार टन युरिया मल सापटीमा ल्याउने प्रक्रिया अगाडि बढाएको मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसी स्वीकार्छन् । कृषि मन्त्रालयका अनुसार अहिले मल पैंचोका रूपमा ल्याइने र आगामी वर्ष सरकारले नै खरीद गरेर बंगलादेशलाई पैंचो तिरिनेछ । दुवै देशका प्रधानमन्त्रीबीचको मगलवारको कुराकानीपछि यसबारे टुंगो लागेको मन्त्रालयका वरिष्ठ अधिकारीले बताए ।
मल आपूर्तिको ठेक्का पाएका कम्पनीहरूले आयातमा गरेको ढिलाइका कारण नेपालले बंगलादेशबाट युरिया मल सापटी लिन लागेको कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले बताए । मल आपूर्तिको ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल ल्याउन ढिलाइ गर्दा तथा यसअघि आयात गरिएको मल आउन समय लाग्दा अहिले देशभरका कृषकरू चरम मल अभावको सामना गरिरहेका छन् । वैशाख दोस्रो साता ५० हजार मेट्रिकटन युरिया आयातका लागि सम्झौता गरेका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले अवधि सकिन लाग्दासमेत मल ल्याउने संकेत देखाएका छैनन् । शैलुङ र होनिकाले मल ल्याउन गरेको सम्झौता भदौ २० मा सकिँदै छ । सम्झौताअनुसार असार मसान्तबाट शुरू गरी भदौ २० गतेसम्म सबै मल ल्याइसक्नुपर्ने थियो ।
कृषि मन्त्रालयले मल आयातको जिम्मा लिएका दुवै कम्पनीसँग पटकपटक स्पष्टीकरण मागे पनि कोरोना महामारीलाई कारण देखाएर ढिलो भएको बताउँदै आएका छन् ।
‘पछिल्लो समय करीब २० दिनअघि सिपमेन्टको काम भइरहेको छ भनेर दुवै कम्पनीले कृषि सामग्रीलाई जानकारी गराए पनि त्यसको स्पष्ट आधार र प्रमाण कृषि सामग्रीलाई उपलब्ध गराउन सकेका छैनन्,’ कृषि सामग्री कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलले अभियानलाई बताए । करीब १ साताजति पर्खिने र त्यसपछि पनि मल ल्याउने प्रक्रिया अगाडि नबढाए कानूनी प्रक्रियामा गएर उनीहरूको टेन्डर रद्द गरिने उनले बताए ।
मल आयातका लागि उत्तरी नाका खोल्ने गृहकार्य
सरकारले मल आयातका लागि उत्तरी नाका तातोपानी र रसुवागढी पनि खोल्ने गृहकार्य थालेको छ । यसअघि दक्षिणतर्फ भारतको बाटो हुँदै मल आयात गरिँदै आएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसको सम्भाव्यता अध्ययनका लागि छुट्टै समिति बनाएर गृहकार्य गरिरहेको थियो । उक्त समितिले दिएको सुझावअनुसार चीनबाट आयात गर्न सकिने एवम् भारतबाट भन्दा कम समयमै नेपाल ल्याउन सकिने जानकारी दिएको मन्त्रालयका प्रवक्ता केसी बताउँछन् ।
यद्यपि यसरी मल ल्याउँदा तातोपानी र रसुवागढी दुवै नाकामा नेपालतर्फको सडक खराब भएका कारण ठूलो परिमाणमा भने आयात गर्न नसकिने उनले बताए । अहिले नेपालले चीनलगायत अन्य तेस्रो मुलुकसँग किनेको मल कोलकाता बन्दरगाह हुँदै ल्याउनुपर्दा लामो समय लाग्ने गरेको छ । त्यसैले चीन र भारत दुवैतर्फका नाकाबाट मल आयात गर्न सहज हुने उनको तर्क छ ।
शुरूमा परीक्षणका रूपमा कृषि सामग्री कम्पनीमार्फत १० हजार मेट्रिकटन युरिया र १० हजार मेट्रिकटन डीएपी खरीदका लागि आगामी २ साताभित्रै टेन्डर खोल्ने गृहकार्य भइरहेको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका कृषि प्रसार अधिकृत अरूण जिसीले जानकारी दिए ।







