७९ औँ वार्षिकोत्सव मनाएका यी विश्वकै सबैभन्दा पुराना विवाहित जोडी
जुलियो सिजर मोरा र उनकी पत्नी वाल्ड्रमिना मेक्लोभिया क्विनटेरोसले यस वर्ष विवाहको ७९ औँ वार्षिकोत्सव मनाएका छन् । जुलियो ११० वर्षका भए भने मेक्लोभिया पनि आगामी अक्टोबरमा १०५ वर्ष पुग्नेछिन् । यो जोडीको उमेर जोड्दा २१४ वर्ष र ३५८ दिन हुन्छ । गिनिज वल्र्ड रेकर्डसले उनीहरुलाई विश्वकै सबैभन्दा पुराना जिवित विवाहित जोडी घोषणा गरेको हो ।
उनीहरुको पहिलो भेट स्कुल पढ्दाखेरि भएको थियो र सात वर्षको मित्रता अनि प्रेमपछि दुवैले १९४१ मा विवाह गर्ने निर्णय गरेको बताइएको छ । आफूहरुको सफल वैवाहिक जीवनबारे उनीहरुले यस्तो भनेका हुन्, “यसमा परिवार एकिकृत हुनु सबैभन्दा पहिलो नियम हो, त्यसपछि आपसी सम्मान कायम राख्ने, इमान्दारीतापूर्वक काम गर्ने, पारिवारिक मूल्य मान्यताका आधारमा उचित शिक्षा हासिल गर्नु नै सम्बन्धलाई सधैँ स्वस्थ राख्ने मुख्य उपाय हुन् । ”
उनीहरुका पाँच छोराछोरी, ११ नातिनातिनी, २१ पनाति र ९ खनाति गरि धेरै ठूलो परिवार रहेको बताइएको छ । छोरी औराका अनुसार जुलियो र मेक्लेभियालाई अझैपनि एकसाथ फिल्म हेर्न जान अनि बगैँचामा रोपाइँ गर्न मन पर्छ । सीएनएनबाट







