करीब २८ अर्ब ऋण स्वीकार

जनपत्र
३ भाद्र २०७७, बुधबार ०६:२८

सरकारले एशियाली विकास बैंक र नर्वे सरकारले छुट्टाछुट्टै रूपमा उपलब्ध गराउन लागेको २८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण स्वीकारेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण स्वीकार्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवं सञ्चारमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

मन्त्री खतिवडाका अनुसार नेपाल सरकारले एशियाली विकास बैंकबाट करीब २३ अर्ब ८८ करोड रुपैयाँ ९२ सय मिलियन डलर० सहुलियतपूर्ण ऋण लिनेछ । सो ऋण अन्तरदेशीय विद्युत् प्रसारण तथा वितरण प्रणालीका लागि खर्चिनेछ । त्यस्तै, नर्वे सरकारबाट प्राप्त हुने ४ अर्ब रुपैयाँ अनुदान हो । यो अनुदान पनि स्वीकार्ने निर्णय मन्त्रिपरिषद्ले गरेको खतिवडाले बताए ।

चालू आर्थिक वर्षको बजेटमा सरकारले २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण लिने योजना बनाएको छ । वैदेशिक अनुदान भने ६० अर्ब ५२ करोड प्राप्त हुने प्रक्षेपण गरेको थियो ।

यसैबीच सरकारले अन्तरराष्ट्रिय वित्त निगम ‘आईएफसी’मा शेयर वृद्धि गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को सोमवारको बैठकले अन्तरराष्ट्रिय वित्त निगम आईएफसीको ३ हजार ५ सय ५८ कित्ता शेयर खरीद गर्ने निर्णय गरेको हो । योसँगै आईएफसीमा नेपालको शेयर स्वामित्व ९ हजार ८२५ कित्ता पुगेको छ । नेपालले यो शेयरमा प्रतिकित्ता १ हजार अमेरिकी डलरको दरले लगानी गर्नेछ । अर्थका अधिकारीहरूका अनुसार शेयर खरीद रकम सन् २०२३ पछि भुक्तानी गर्नुपर्नेछ ।

सरकारी निर्णय अनुसार आईएफसीको जनरल क्यापिटल इन्क्रिज र स्पेसल क्यापिटल इन्क्रिज दुवैतर्फको शेयर खरिद गरिनेछ । शेयर थपिएसँगै आईएफसीमा नेपालको ‘भोटिङ पावर’ पनि बढेको बताइएको छ । अब नेपालले शून्य दशमलव शून्य ७ प्रतिशत भोटिङ पावर पाएको छ । यसअघि यो शून्य दशमलव शून्य ६ प्रतिशत थियो ।

आईएफसी विश्व बैंक समूह अन्तर्गतका ६ ओटामध्ये एक निकाय हो । यसले खासगरी विश्वभर निजी क्षेत्रमा ऋण लगानी प्रवाह गर्दै आएको छ । यो वर्ष कोरोना भाइरसको संक्रमण र यसले अर्थतन्त्रमा पार्ने प्रभाव न्यूनीकरणका लागि विश्व बैंक र आईएफसीले १४ अर्ब अमेरिकी डलर बराबरको द्रुत वित्तीयकरण प्याकेज ल्याएका थिए ।अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*