यूएईबाट अढाई महिनामा १३ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

जनपत्र
२९ श्रावण २०७७, बिहीबार ०६:०६

संयुक्त अरब इमिरेट्स यूएई बाट करिब अढाई महिनाको अवधिमा स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका १३ हजार ७८५ जना नेपाली स्वदेश फर्किएका छन् ।अबुधाबीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । साथै, यो अवधिमा भएको उडानमा २६ वटा शव पनि स्वदेश पठाएको दूतावासले जनाएको छ ।

कोरोनाका कारण नियमित अन्तराष्ट्रिय उडान बन्द भएको अवस्थामा नेपाल फर्कनैपर्ने नेपालीलाई जुन महिनादेखि नेपाल सरकारले चार्टर उडानको व्यवस्था गरेको थियो । दूतावासले नेपाल फर्कने अवस्थामा रहेका नेपालीको विवरण सङ्कलन २८ अप्रिलदेखि अनलाइन रजिष्ट्रेसन फाराम खुला गरेको थियो । उक्त रजिष्ट्रेसन फाराम भर्नेको सङ्ख्या हाल सम्म ४२ हजार पुगेको छ ।
यसका अतिरिक्त राजदूतावासको ईमेल र टेलिफोनमार्फत् नेपाल फर्किन नाम टिपाउनेहरूको सङ्ख्या करिब पाँच हजार हाराहारीमा रहेको दूतावासको भनाइ छ । नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा गर्भवती महिला, बिरामी, नेपालमा आफन्त गुमाएका, विद्यार्थी, रोजगारी गुमाएकालगायत व्यक्तिहरूलाई नेपाल फर्काउने क्रम जारी छ ।

साथै, गत मार्च ११ देखि ११० जना नेपाली नागरिकले यूएईमा ज्यान गुमाएको छ । प्राकृतिक मृत्यु, कोरोना सङ्क्रमण, आत्महत्या, दुर्घटना, हत्या आदिबाट मृत्यु भएका छन् । यस क्रममा २६ वटा शव नेपाल पठाइएकोमा चार शव पठाउने क्रममा रहेको दूतावासले जानकारी दिएको छ । साथै, ६९ जनाको शव यूएईमा दाहसंस्कार गरिएको छ भने बाँकी ११ वटा शवको विस्तृत रिपोर्ट प्राप्त गर्ने प्रक्रियामा रहेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*