अमेरिकी चुनावमा चीन, रुस र इरानको विशेष चासो किन ?

जनपत्र
२७ श्रावण २०७७, मंगलवार ०५:५७

यसवर्षको अमेरिकी राष्ट्रपति चुनावमा विशेषगरी इरान, रुस र चीनले विशेष चासो दिइरहेको अमेरिकी खुफिया निकायले जनाएको छ । चुनावलाई प्रभावित गर्न चाहने वा गर्न खोजिरहेका मुलुकहरु मध्ये यी देश सबैभन्दा अगाडि रहेको मानिन्छ ।

किनकि जहाँ चीन र इरान राष्ट्रपति डोनाल्ड ट्रम्प पुन निर्वाचित नभइदिए हुन्थ्यो भन्ने चाहान्छन् भने रुस चाहिँ उनैको पक्षमा रहेको अमेरिकी विज्ञहरुले बताएका छन् । यसरी मत प्रक्रियालाई प्रभावित गर्नकै लागि विदेशी मुलुकहरुले विभिन्न तरिका अपनाउन सक्ने सम्बन्धी अमेरिकाको काउन्टर–इन्टेलिजेन्सका निर्देशक, विलियम इभानेनाले यसअघि चेतावनी दिएका हुन् । २०१६ को राष्ट्रपति चुनावमा पनि त्यस्तै प्रयास भएको र रुसले हस्तक्षेप गरेको खुफिया प्रमुखहरुले बारम्बार आरोप लगाउँदै आएका छन् । उनीहरुका अनुसार रुस ट्रम्पको चुनाव अभियानलाई सघाउन चाहन्थ्यो जस अन्र्तगत यसले विभिन्न गलत जानकारीहरु अनलाइन फैलाएको बताइएको छ । रुसले भने सो दाबी गलत ठहर गर्दै आएको छ ।

यस्तोमा शुक्रबारको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पसँग निर्वाचनलाई विदेशी हस्तक्षेपबाट रोक्न के गर्ने योजना छ भन्ने सम्बन्धी प्रश्न गर्दा उनले आफ्नो प्रशासनले यो विषयलाई नजिकबाट अध्ययन गर्ने बताएका हुन् । यसअघि कोरोना महामारीका कारण मेल–इन वा पोस्टल ब्यालेटमार्फत चुनाव गर्न सकिने भन्ने खबर बाहिर आएपछि ट्रम्पले सो तरिका इतिहासकै सबैभन्दा अनुचित र पक्षपातपूर्ण हुने बताउँदै बरु चुनावको मितिमा ढिलाइ गर्न भनेका थिए । उनको सो अभिव्यक्तिको उनैको पार्टीका सदस्यले समेत विरोध जनाएका हुन् ।

यतिबेला अमेरिकाको राष्ट्रपति चुनावमा को विजेता हुने भन्ने सम्बन्धी विभिन्न देशको आ–आफ्नै अभिरुची भएकाले पनि यसलाई गम्भीरतापूर्वक लिन जरुरी रहेको काउन्टर इन्टेलिजेन्सका निर्देशकले बताएका हुन् । मुख्यगरी चीन, इरान र रुसबारे आफूहरु बढी चिन्तित रहेको उनले बताए ।

राष्ट्रपति ट्रम्पलाई चीनले अप्रत्याशित नेताका रुपमा लिने गरेको हुँदा निर्वाचन अगाडि मतदाताहरुलाई प्रभावित गर्न सक्ने इन्टेलिजेन्स ब्युरोले जनाएको छ । त्यस्तै रुसले भने अर्का उमेदवार बाइडेनलाई हानि पुर्याउन सक्ने बताइएको छ भने सामाजिक संजाल मार्फत अप्रत्यक्ष रुपमा ट्रम्पको चुनाव प्रचारलाई सहयोग पुर््याउन सक्ने बताइएको छ । यता इरानले चाहिँ चुनाव अगाडि अमेरिका विरुद्धको भाव उत्पन्न गराउने गलत सामग्रीहरु अनलाइन मार्फत फैलाएर देशलाई विभाजित गर्न चाहेको बताइएको छ । किनकी दोस्रो कार्यकालको निर्वाचनले इरानलाई शासन बदल्न झन ठूलो दबाबमा पार्नेछ ।

शुक्रबारको पत्रकार सम्मेलनमा ट्रम्पले रुसले हस्तक्षेप गर्न सक्ने सम्भावना रहेको समेत बताएका हुन् तर यसबाट आफैँलाई मद्दत पुग्ने कुरामा चाहिँ उनले कुनै प्रतिक्रिया दिएनन् । त्यस्तै आफूले हार्दा सबैभन्दा बढी खुसी चीन हुने पनि उनले बताएका हुन् । बाइडेनले चुनाव जितेमा चीनले पूरै अमेरिका आफ्नो पार्न सक्ने उनको भनाइ थियो । बिबिसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*