लेबननकाे राजधानी बेइरुतमा भएकाे विस्फाेटमा कम्तीमा १ सय जनाकाे ज्यान गयाे, ४ हजार बढी घाइते

लेबननको राजधानी बेइरुतमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा एक सय जनाको ज्यान गएको छ भने चार हजारभन्दा धेरै घाइते भएका छन् । एउटा गोदाममा ६ वर्षअघि देखि राखिएको विस्फोटक पदार्थ ९अमोनियम नाइट्रेट० का कारण यो घटना भएको अधिकारीहरुले बताएका छन् ।
लेबननका प्रधानमन्त्री हसन दियाबले यसलाई एक खतरनाक गोदाम बताउँदै त्यो सन् २०१४ मा बनाइएको बताउनुभएको छ । साथै उहाँले यसलाई प्रलयकारी घटना बताउँदै दोषीहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । लेबननका राष्ट्रपति मिशेल आउनले दुई हजार सात सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा राख्नु ‘स्वीकार’ नहुने बताउनुभएको छ ।
यो विस्फोटको आवाज दुई सय ४० किलोमिटर टाढा साइप्रससम्म पनि सुनिएको थियो । अमोनियम नाइट्रेट एक गन्धहीन केमिकल पदार्थ हो, जसको प्रयोग विभिन्न काममा हुने गर्दछ । खेतीलाई उर्बर बनाउन र निर्माण तथा खन्नको लागि विस्फोटक पदार्थको रुपमा प्रयोग गरिन्छ । यो अत्यन्त विस्फोटक केमिकल हो । आगो लाग्दा यो विस्फोट हुन्छ र खतरनाक ग्यास निक्लिन्छ, जसमा नाइट्रोजन अक्साइड र अमोनिया ग्यास हुन्छ ।