१३ सयभन्दा बढी नेपाली स्वदेश फर्किए

जनपत्र
२२ श्रावण २०७७, बिहीबार ०५:५७

विभिन्न मुलुकमा अलपत्र एक हजार तीन सय १३ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले गरेका उद्धार चार्टर्ड उडानमार्फत् उनीहरुलाई स्वदेश फर्काएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आवागमन र प्रस्थान दुवैगरी १५ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट दुई सय ६५ र दोहाबाट एक सय ५१ यात्रु काठमाडौं ल्याएको छ । त्यस्तै कतारको दोहाबाट एक सय ५१ यात्रु नेपाल ल्याएको छ । सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि रियाद र दमाम प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

हिमालय एयरलाइन्सले दमामबाट एक सय ५४ यात्रु तथा दुई शव नेपाल ल्याएको छ । अबुधाबीबाट एक सय ५४ यात्रु ल्याएको छ । हिमालयकै जहाजले इराकको बगदादबाट ३९ यात्रु ल्याएको छ । काठमाडौंबाट बगदाद जाँदा ३६ यात्रु लगेको थियो । थप नेपालीको उद्धारका लागि हिमालयको जहाज दोहा र दमाम उडेको छ ।

त्यस्तै कतार एयरवेजले दुई सय ५१, इतिहाज एयरले अबुधाबीबाट एक सय ३८ र फ्लाई दुबईले एक सय ६१ नेपाली काठमाडौं ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी आठ चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ ।

बुधबार आन्तरिकतर्फ पनि सात वटा चार्टर्ड उडान भए । तारा र समिट एयरका जहाज तथा मनाङ, सिम्रिक र कैलाशको हेलिकप्टरले विभिन्न गन्तब्यमा उडान गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*