बेजोसकी पूर्वपत्नीले डिभोर्सबाट प्राप्त सम्पतिमा १.७ अर्ब डलर दान गरिसकिन्
अमेजोन कम्पनीका मालिक, विश्वका सर्वाधिक धनी व्यक्ति जेफ बेजोसकी पूर्वपत्नीले डिभोर्सबाट प्राप्त सम्पतिमा १.७ अर्ब डलर बराबर दान गरिसकेको बताइएको छ ।
अघिल्लो वर्ष भएको बेजोस र पूर्वपत्नी मेकेन्जी बीचको डिर्भोसलाई ऐतिहासिक मानिएको थियो जसमा हालसम्मकै सबैभन्दा धेरै सम्पति विभाजित गरिएको हो । त्यसबीच पत्नी मेकेन्जी विश्वको सर्वाधिक धनी महिला पनि बन्न पुगेकी थिइन् । उनले डिभोर्स अन्र्तगत अमेजोनमा बेजासको एक चौथाइ भन्दा बढी शेयर प्राप्त गरेकी थिइन् जुन ३५ अर्ब डलर बराबर भएको बताइन्छ । यस्तोमा उनको कूल सम्पति अहिले ६० अर्ब डलर रहेको अनुमान गरिएको छ ।
तर मेकेन्जीले गत वर्ष नै आफूले सो सम्पतिको अधिकांश हिस्सा विभिन्न परोपकारी संस्थाहरुलाई दान दिने प्रतिज्ञा दिएकी हुन् । यसरी २०२० को सुरुवात आफ्ना लागि पनि भयावह र दुःखद् रहेको उनले बताएकी छन् । तरपनि आफूले ११६ वटा संघसंस्थाहरुमा १।७ अर्ब डलर दान गरिसकेको उनी बताउँछिन् । जातीय समानता, लैङ्गिक अधिकार, प्रभावकारी गणतन्त्र र जलवायु परिवर्तन लगायत अति महत्वपूर्ण क्षेत्रमा आफूले योगदान पुर्याउन चाहेकाले तिनैमा केन्द्रित रहेर दान गरेको उनले बताइन् ।
केही वर्ष अगाडि जेफ बेजोस, विश्वका सर्वाधिक धनी भएर पनि बिल गेट्स लगायत अन्य सम्पन्नशाली व्यक्तित्व जसरी परोपकारी कार्यमा योगदान नपुर्याएको प्रति आलोचित हुने गरेका थिए । तर पछिल्लो समय उनले जलवायु परिवर्तन र खाद्यान्न सम्बन्धी अरबौँ डलर दान गरेका छन् । एजेन्सी







