अमेरिकामा महामारी रोक्न नसकिने दिशातिर उन्मुख भएको चेतावनी !
अमेरिकाका वैज्ञानिकहरुले अमेरिकी सरकारलाई कोरोनाभाइरस महामारीसम्बन्धी आफ्ना नीतिलाई बदल्न अनुरोध गरेका छन् । उनीहरुले कोरोनाभाइरस महामारीबा६ संसारका सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिका महामारीलाई रोक्ने दिशातिर उन्मुख नभएको चेतावनी पनि दिएका छन् । अहिले अमेरिकामा कोरोनाभाइरसको महामारीबाट ४४ लाखजना संक्रमित भइसकेका छन् भने १ लाख ५० हजारजनाको मृत्युसमेत भइसकेको छ ।
गत बुधबार अमेरिकाको क्यालिफोर्निया, टेक्सस र फ्लोरिडामा गत मे महिनायताकै सबैभन्दा बढी मृत्युको घटना भएपछि जोन हप्किन्स युनभर्सिटीका अनुसन्धानकर्ताहरुले सो चेतावनीसहितको अनुरोध जारी गरेका हुन् । वैज्ञानिकहरुले जारी गरेको सो नीतिसम्बन्धी सारांश विवरणमा अमेरिकाले गत मे महिनामा घरमै बस्ने नीतिलाई कडाइका साथ लागू गरेकोले कोरोनासंक्रमणका केसहरुमाथि नियन्त्रण पाउन सकेको स्मरण गराइएको छ । तर ‘अहिले कोरोनोसंक्रमणमा भएको बढोत्तरीले मुलुकका थुप्रै भागहरुमा अस्पतालहरुमा चाप बढेको तथा समाजका वित्तीय, शिक्षादेखि स्वास्थ्यक्षेत्रमा समेत तनाव बढाएको’ कुरा पनि त्यसमा उल्लेख गरिएको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार अहिले कोभिड–१९ का कारण विभिन्न राज्यहरुमा अस्पतालमा भर्ना हुनेहरुको संख्याले गत मार्च–अप्रिल महिनामा कोरोनोभाइरस संक्रमणको इपिसेन्टरको रुपमा देखापरेको न्यूयोर्कको स्थिति छेउछाउ पुगेको वा त्यसलाई पनि नाघेको पनि स्मरण गराएका छन् ।
‘संसारका अरु मुलुकहरुको तुलनामा, अमेरिकाले अहिले महामारीलाई नियन्त्रण गर्ने दिशातिर उन्मुख भइरहेको छैन । अब त्यसलाई परिवर्तन गर्नेबेला भएको छ,’ अनुसन्धानकर्ताहरुले जारी गरेको सारांश प्रतिवेदनमा भनिएको छ । सो प्रतिवेदनमा कोरोनाको संक्रमण फैलिन नदिनका लागि गर्नैपर्ने १० वटा कार्यहरु पनि सुझाइएको छ । उनीहरुले दिएका सुझावमध्ये सबैभन्दा प्रमुख मास्कको अनिवार्य प्रयोग, सामाजिक दूरीको पालना, नियमित रुपमा हात धुनुपर्ने तथा ठूला जमघटहरुलाई पन्छाउनुपर्ने जस्ता कुराहरु छन् ।
‘यी उपायहरुको पालना नगरिकन महामारीमाथि नियन्त्रण पाउन तथा अहिले बढोत्तरीभइरहेको महामारीलाई उल्टाउन कठिन हुनेछ,’ प्रतिवेदनमा भनिएको छ । ‘अहिले अमेरिकामा कोभिड–१९ त्यो अवस्थामा पुगेको छ, जसमा माथिका प्रतिरक्षात्मक उपायहरु व्यक्तिको व्यक्तिगत छनौट भनेर भन्न सकिने अवस्था छैन, बरु त्यसलाई सामाजिक उत्तरदायित्वको तौरतरिकाको रुपमा लागू गर्नु जरुरी भइसकेको छ ।’
अलजजिराबाट