चुनाव सार्ने प्रस्ताव गरेर थप समस्यामा ट्रम्प, उनकै पार्टीका शीर्ष नेताले गरे विरोध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनाव सार्ने प्रस्ताव गरेर आफ्नै पार्टी भित्र पनि विवाद र आलोचनाको घेरामा आएका छन् । ट्रम्पले चुनावमा छल हुन सक्ने भएकाले नोभेम्बर भन्दा पछि सार्नु पर्ने बताएका थिए । त्यसपछि विपक्षी डेमोक्र्याटले त्यसको तीव्र आलोचना गरेकोमा रिपब्लिकन पार्टीका शीर्ष नेताहरुले पनि विरोध गरेका छन् ।
माथिल्लो सदन सिनेटका मेजोरिटी लिडलर मिच म्याकोनेल र तल्लो सदनका माइनोरिटी लिडर केविन म्याकर्थीले ट्रम्पको प्रस्ताव खारेज गरेका हुन् । उनीहरु दुवै रिपब्लिकन हुन् । ट्रम्पसँग चुनाव पछि सार्ने कुनै अधिकार छैन । चुनाव पछि सार्ने सम्बन्धी प्रस्ताव कंग्रेसले पास गर्नु पर्छ । ट्रम्पले हुलाक मार्फत हुने मतदान बिस्तार हुँदै गएको र यसले धाँधली, छल तथा तथ्यगत नतिजा नआउने भन्दै चुनाव सार्ने प्रस्ताव गरेका हुन् । नागरिकले व्यवस्थित, स्वातन्त्र तथा सुरक्षित रुपमा मतदान गर्न पाउने अवस्था सिर्जना भएपछि चुनाव गर्नु पर्ने उनले बताएका हुन् ।
कोरोना भाइरसको महामारीका कारण आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा धेरै अमेरिकीले हुलाक मार्फत मतदान गर्दै छन् । ट्रम्पको दाबीलाई पुष्टि गर्ने प्रमाणहरु छैनन्, उनी लगातार हुलाक मार्फत हुने मतदानको विपक्षमा रहँदै आएका छन् ।सन् १९३० को ग्रेट डिप्रेसन यताकै खराब अवस्थामा अमेरिकी अर्थतन्त्र पुगेका बेला ट्रम्पले चुनाव सार्ने प्रस्ताव गरेका हुन् ।
बलियो अर्थतन्त्रलाई प्रमुख मुद्दा बनाउँदै आएका ट्रम्प अर्थतन्त्र नै खराब भएपछि आफू दोस्रो कार्यकालका लागि निर्वाचित नहुने भयका कारण त्यसलाई टार्न चुनाव सार्ने खेलमा लागेको विपक्षीको आरोप छ । रिपब्लिकनहरुले नै अमेरिकी इतिहासमा राष्ट्रपति चुनाव कहिल्यै पनि पछि नधकेलिएको भन्दै ट्रम्पको प्रस्ताव खारेज गरे । राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन उम्मेदवार बन्दै छन् । ट्रम्प पछिल्ला अधिकांश सर्वेक्षणहरुमा बाइडेन भन्दा दोहोरो अंकले पछि देखिएका छन् ।