कोरोनाभाइरसः भारतमा दुई दिनमा भेटिए लाखभन्दा बढी संक्रमित
कोरोनभाइरसका कारण सबैभन्दा बढी प्रभावित देशमध्ये एक भएको छ, भारत । अमेरिका र ब्राजिलपछि अहिले भारतमा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित रहेका छन् । पछिल्ला दिनमा भारतमा कोरोनाभाइरस संक्रमित थपिने दर पनि निकै बढ्दो छ । केही दिनयता भारतमा प्रत्येक दिन कम्तिमा पनि ३५ हजार कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
दुई दिन यता त भारतमा कम्तिमा पनि एक लाख कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ३६ हजार पुगेको छ । अनि भारतमा कम्तिमा पनि ३१ हजारभन्दा बढीको कोभिड १९ का कारण ज्यान गएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि भारतका केही प्रदेशहरुले लकडाउनमा कडाइ गर्न समेत थालेका छन् ।







