पठाओका सह-संस्थापकको हत्याकाण्डमा उनकै निजी सहयोगी पक्राउ
म्यानह्याटनको आफ्नो अपार्टमेन्टमा मृत फेला परेका ुपठाओु का सह-संस्थापक फहिम सलेहका निजी सहयोगीलाई शुक्रबार पक्राउ गरिएको छ। पक्राउ परेका २१ वर्षीय टिरेसा डेभोन हस्पिललाई फहिमको हत्यासहित अन्य अपराधको अभियोग लगाइन सक्ने अनुसन्धानमा संलग्न दुई जना अधिकारीले बताएका छन्।
राइड सेयरिङ कम्पनी पठाओका ३३ वर्षीय सह(संस्थापक फहिमको शव मंगलबार उनकै अपार्टमेन्टमा फेला परेको थियो। उनको शवको हात, खुट्टा र टाउको काटिएको अवस्थामा थियो। फहिमकी बहिनीले सबभन्दा पहिला शव देखेकी थिइन्।
उनी अघिल्लो दिनदेखि सम्पर्कविहीन फहिमलाई खोज्दै अपार्टमेन्ट पुगेकी थिइन्। त्यहाँ उनले फहिमको शव वीभत्स रूपले काटिएको अवस्थामा फेला पारिन्। शवका केही टुक्रा प्लास्टिकका ठूल्ठूला झोलामा पोका पारेर राखिएका थिए। एउटा विद्युतीय करौंती पनि घटनास्थलमा फेला परेको थियो।
हत्याराले फहिमलाई मारेर त्यही करौंतीले शव टुक्राटुक्रा पारेको हुनसक्ने प्रहरीको अनुमान छ। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार शुक्रबार पक्राउ परेका हस्पिलले फहिमको दसौं हजार डलर चोरी गरेको खुलेको छ। यो कुरा थाहा पाए पनि फहिमले उजुरी गरेका थिएनन्। बरू उनले चोरिएको रकम चुक्ता गर्न समय दिएका थिए, ती अधिकारीले भने।
अनुसन्धानबाट फहिमको हत्या सोमबार नै भइसकेको थाहा भएको छ। हत्याराले उनकै क्रेडिट कार्ड प्रयोग गरेर होम डिपोबाट कार झिकाएका थिए। त्यही कार प्रयोग गरेर उनले घटनास्थल सरसफाइ गर्न केही सामान किने। हत्यारा ती सामान लिएर भोलिपल्ट फहिमको अपार्टमेन्ट पुगे र उनको शव टुक्रा पारे। त्यही बेला फहिमकी बहिनी अपार्टमेन्टमा आएको चाल पाएपछि उनी पछाडिको ढोकाबाट फरार भएको प्रहरीले जनाएको छ।
हत्याराले कालो थ्री-पिस सुट लगाउनुका साथै कालो मास्कले अनुहार ढाकेको अनुसन्धानबाट खुलेको छ। पोस्टमार्टम रिपोर्टअनुसार लगातार चक्कू हानेर उनको हत्या गरिएको थियो। फहिम एक वर्षअघि मात्र उक्त अपार्टमेन्टमा सरेका थिए। बंगलादेशी आमाबुवाका छोरा फहिम सन् १९८६ मा साउदी अरबमा जन्मेका थिए। उनको परिवार पछि अमेरिका सरेको थियो।अमेरिकामै कम्प्युटर इन्जिनियरिङ पढेका उनले विद्यार्थी हुँदै विभिन्न एपहरू बनाएका थिए।
सन् २०१५ मा उनले दुई जना साथीहरूसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओ खोलेका थिए। पठाओ बंगलादेशमा निकै लोकप्रिय छ। त्यही नाममा नेपालमा पनि राइड सेयरिङ कम्पनी दर्ता भएको छ। पछिल्लो समय फहिमले अफ्रिकी मुलुक नाइजेरियामा ुगोकाडोु नामक अर्को राइड सेयरिङ कम्पनी खोलेका थिए। गोकाडोका उनी प्रमुख कार्यकारी अधिकृत थिए। सेतोपाटीबाट