प्रिमियर लिग क्लबलाई मैत्रीपुर्ण खेल खेल्न अनुमति
प्रिमियर लिग आयोजकले कोरोना महामारीपछि १७ जुनदेखि पुनः शुरु हुन लागेको इंग्लिस प्रिमियर लिगको खेलअघि क्लबलाई एक अर्कासँग मैत्रीपुर्ण खेल खेल्न अनुमति दिएको छ ।
बेलायती पत्रिका टेलिग्राफका अनुसार मैत्रीपुर्ण खेलका कडा निर्देशन र नियमको पालना गर्नुपर्ने हुन्छ । जहाँ अफिसियल रेफ्री हुनेछैन । क्लबका कोचिङ स्टाफले रेफ्रीको भुमिका निभाउनु पर्ने तथा खेल ९० मिनेट भन्दा बढी हुनेछैन । खेलाडीहरु आफ्नै कारमा खेल स्थलसम्म पुग्नुपर्नेछ ।
मैत्रीपुर्ण खेल क्लबको स्टेडियम वा प्रशिक्षण स्थलमा हुनेछ । जहाँ जोखिमलाई पुर्ण रुपमा पालना गरिनेछ । खेलाडीहरुको अनिवार्य कोरोना परिक्षण गरिएको रिपोर्ट हुनुपर्नेछ । मैत्रीपुर्ण खेल क्लबको प्रदर्शन र कमी कमजोरी सुधारको लागि मौका हुन सक्नेछ । मार्च पहिलो सातायता, क्लबहरुले प्रशिक्षण र खेल्ने मौका पाएको छैन ।
प्रिमियर लिग पुन सुचारु हुने अवस्था बनेपछि क्लबहरुले झन्डै एक महिनाअघि देखि प्रशिक्षण थालेका छन् । यसै सातोदेखि क्लबहरुले कन्ट्याक्ट प्रशिक्षण थालेका छन् । म्यानचेस्टर सिटीले १७ जुनमा आर्सनलसँग खेल्नेछ । सोही दिन सेफिल्ड युनाइटेड र एस्टन भिल्लाबीच खेल हुनेछ । २० जुनबाट ३०औं चरणका खेलहरु हुनेछन् । २५ जुलाईमा यो सिजन सकिनेछ ।
मर्सिसाइड क्लब लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक छ । लिभरपुललाई च्याम्पियन बन्न केवल दुई जितको खाँचो छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । लिभरपुलको २९ खेलबाट ८२ अंक छ । सिटीको २८ खेलबाट ५७ अंक छ । बर्नमाउथ, एस्टन भिल्ला र नर्विच सिटी रेलिगेसन जोनमा छ ।







