फुटबलर दुर्घटनामा परेको विमान चालकसँग लाइसेन्स नभएको खुलासा
दुर्घटनामा परी मृत्यु भएका अर्जेन्टिनी फुटबल खेलाडी इमिलियानो साला सवार विमानका चालक डेभिड इब्बोटसनसँग व्यावसायिक उडान भर्ने इजाजतपत्र ‘लाइसेन्स’ नभएको खुलेको छ।
गत वर्ष जनवरी २१ मा भएको उक्त दुर्घटनाबारे गरिएको अनुसन्धानबाट उक्त तथ्य खुलासा भएको हो। पाइलट इब्बोटसनले त्यसअघि लिएको इजाजतपत्र नोभेम्बर २०१८ मै खारेज भइसकेको निष्कर्ष अनुसन्धानको छ। साथै, उक्त विमानसँगसमेत व्यावसायिक उडान भर्ने इजाजत नभएको प्रतिवेदनमा जनाइएको छ।
फ्रेन्च क्लब न्याटेसबाट इङ्लिस प्रिमियर लिग खेल्ने सपना पूरा गर्न इङ्लिस क्लब कार्डिफ सिटी आउने क्रममा साला चढेको विमान दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा २८ वर्षीय सालाको मृत्यु भएको थियो।







