बागमती प्रदेश सरकारको जोडः सुरुङमार्ग, रोपवय र कान्तिलोकपथ

जनपत्र
३० फाल्गुन २०७६, शुक्रबार १८:४४

हेटौंडा । बागमती प्रदेश सरकारले ठुला योजनामा ध्यान दिन थालेको छ । प्रदेशको राजधानीसंग जोडिने ठुला योजनाको काममा जोड दिन थालिएको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशमा ठुला योजनाका कामलाई ध्यानमा राखेर काम गर्न थालेको हो ।

प्रदेश गौरवको आयोजनाको रुपमा रहेको भिमफेदी– कुलेखानी सुरुङमार्ग निर्माणको काम आउँदो बैशाख महिनामा सुरु गर्नेगरी काम थालिएको भौतिक पुर्वाधार विकास मनत्री रामेश्वर फुयालले वताउनु भयो ।

मन्त्रालयले पुरानो र जिर्ण अवस्थामा रहेको हेटौंडा–काठमाण्डौ रोपवयको पनि सम्भाव्यता अध्ययनको काम सुरु गर्न लागेको छ । पहिलो चरणमा छलफलको काम अगाडी वढाउँदै मन्त्रालयले यसतर्फ ध्यान दिन थालेको मन्त्री फुयालले वताउनुभयो ।

यसैगरी हेटौंडा– काठमाण्डौं जोड्ने कान्तिलोकपथ निर्माणमा पनि तीनै तहका सरकार मिलेर काम अगाडी वढाउनका लागि सुरु गर्न लागिएको मन्त्री फुयालले वताउनुभयो । यो सडक छिटो भन्दा छिटो निर्माण गर्नका लागि संघीय सरकार र सडकमा पर्ने स्थानीय सरकारसंगको छलफलबाट छिटो काम सक्नका लागि अभियाननै सुरु गरिएको उहाँले वताउनु भयो ।

मकवानपुरका दुईवटा सुरुङमा बागमती प्रदेश सरकारले विशेष चासो दिएको छ । मकवानपुर र बाराको सिमानामा रहेको एक सय वर्ष पुरानो चुरीयामाइ सुरुङ र हेटौंडा–काठमाण्डौ छोटो दुरीको मार्गलाई जोड्ने भिमफेदी–कुलेखानी सुरुङ खन्नका लागि बागमती प्रदेश सरकारले विशेष चासो दिएको हो ।

एक सय वर्ष अगाडी निर्माण भएको हेटौंडाको चुरीयामाइ सुरुङलाई मर्मत गरेर आओत जाओत गर्नका लागि सहजता पैदा गर्न लागिएको छ । यसक्षेत्रमा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दै चुरीया सुरुङको भत्कीएको जोखिम क्षेत्रको थप मर्मत गरेर सञ्चालन गर्न लागिएको हो ।

बागमती प्रदेश सरकारको प्रवेशद्वारकै रुपमा यो सुरुङलाई मर्मत गरेर प्रयोगमा ल्याउन लागिएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले वताउनु भयो ।

वाग्मती प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको अध्ययन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले हेटौंडा–१५ स्थित चुरियामाईमा रहेको सुरुङको निरीक्षण गर्नु भएको छ ।

१ सय ३ वर्ष पुरानो चुरियामाई सुरुङको निरीक्षण गर्दै मन्त्री फुयालले प्रदेश सरकारले सुरुङको पुर्ननिर्माण गर्ने तयारी अगाडि बढाएको बताउनु भएको छ । बागमती प्रदेश सरकारले चुरियामाई सुरुङमार्गमा रहेको ऐतिहासिक सुरुङको सम्भाव्यता अध्ययन गरि पुनः संचालनमा ल्याउने उहाँले बताउनु भयो ।

सुरुङलाई भविष्यमा पर्यटकीय स्थलको रुपमा विकास गर्ने मन्त्री फुयालले बताउनु भएको छ । सुरुङ भएको स्थानमा तत्कालिन नेपाली सेनाका बिगे्रडियर जनरल दिल्लीजंग थापा (इन्जिनियर)को प्रतिमा बनाउन लागिएको छ । तत्कालिन राणा शासनको पालामा राणा प्रधानमन्त्री, मन्त्रीहरुको गाडीलाई चुरे पहाड छिचोल्न सुरुङमार्ग बनाइएको थियो ।

नेपालका पहिलो सिभिल इन्जिनियरसमेत रहनु भएका थापाले डिजाइन गरेको चुरिया सुरुङ सन् १९१७ मै बनेको थियो । यसलाई टोनी हेगनले आफ्नो पुस्तक ‘नेपाल’मा एसियाकै पहिलो सुरुङ भएको उल्लेख गर्नु भएको छ । जीर्ण अवस्थामा रहेको यो सुरूङ हाल प्रयोगमा छैन ।

डा. टोनी हेगनले ‘नेपाल’ मा २४ अक्टोबर १९५० का दिन मानव निर्मित सुरुङ देखेर आफू आठौं आश्चर्यमा परेको लेख्नु भएको छ । उक्त पुस्तकमा उहाँले लेख्नु भएको छ, ‘नेपालभन्दा ठूलो भारतले पनि सुरुङ प्रविधि भित्र्याउन नसकेको अवस्थामा नेपाल सफल भएको छ ।’

इन्जिनियर थापाले सुरुङको डिजाइन गरी निर्माण गर्नु भएको थियो । हेटौंडा उपमहानगरपालिकाको १५ लाख लगानीमा थापाको पूर्णकदको प्रतिमा बनाउन लागिएको हो ।

मन्त्री फुयालले थापाको प्रतिमा बनाउने स्थलको अनुगमन गर्नु भएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १ वैशाख २०७७ मा थापाको प्रतिमाको अनावरण गर्ने कार्यक्रम तर्जुमा गरिएको भौतिक पूर्वाधार विकास मन्त्री फुयालले बताउनु भयो ।

इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गर्नु भएको थियो । अमलेखगन्ज र भीमफेदी सडकबीचमा पर्ने चुरिया सुरुङ खन्नुपर्ने वा बक्स कटिङ गर्नुपर्ने बाध्यता थियो । बक्स कटिङ गर्न उपकरणहरू नभएकाले मानिसद्वारा सुरुङ खनिएको थियो ।

चुरियामाई मन्दिर पनि इन्जिनियर थापाले नै बनाउनु भएको हो । सपनामा उहाँले त्यसै स्थानमा देवी देखेको र पूजाआजा गरेर मात्र सुरुङ खन्नू भनेकाले विधिपूर्वक पूजा गरेर सुरुङ खन्ने काम गर्नुको साथै मन्दिर पनि बनाएको जनविश्वास छ ।

सुरुङ निर्माणका बेला ‘यस क्षेत्रका बासिन्दाहरूले गीतै बनाउनु भएको थियो, ‘हाम्रा राजा क्या अक्कलदारी, ल्याए मोटर चुरेमा भ्वाङ पारी ।’ भीमफेदीबाट काठमाडौं आवत—जावत गर्न निर्मित उक्त सुरुङले त्यति बेला नेपालीहरूको जनजीवनलाई निकै सहज बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*