९० प्रतिशत महिलानै महिलाविरोधी !

जनपत्र
२८ फाल्गुन २०७६, बुधबार ०६:३२

संयुक्त राष्ट्र संघको नयाँ ग्लोबल रिपोर्टका अनुसार पुरुषले मात्र होइन ९० प्रतिशत महिलाले नै स्त्री जाति सम्बन्धी पक्षपात्पूर्ण धारणा राख्ने गरेका छन् । ‘जेन्डर सोसल नर्मस इन्डेक्स’ ले अघिल्लो साता संयुक्त राष्ट्रको विकास कार्यक्रम अन्र्तगत सार्वजानिक गरेको सो रिपोर्ट, लैङ्गिक समानताबारे मानिसहरुको सामाजिक मान्यताका आधारमा मापन गरिएको थियो ।

यसरी पुरुषहरुमा पनि ९० प्रतिशतले महिला सम्बन्धी भेदभावपूर्ण सोच राख्ने गरेको पाइएको हो । तर यसमा महिलाहरु पनि उत्तिकै सङ्ख्यामा आफूप्रति अविश्वास र विभेदपूर्ण धारणा राख्ने गरेकामा आश्चर्य जनाइएको छ । पछिल्ला केही वर्षहरुमा विश्व लिङ्ग भेद अन्त्यतर्फ अघि बढ्दै गइरहेको भएपनि महिला अधिकार र समानतालाई अझै मान्छेको विभेदपूर्ण धारणाले नकारात्मक प्रभाव पारिरहेको पत्ता लागेको छ । जस्तै अझैपनि विश्वको आधा भन्दा बढी जनसङ्ख्यामा पुरुष राजनीतिक लिडर नै प्रभावकारी साबित हुने मानसिकता रहेको रिपोर्टमा खुलासा गरिएको छ । त्यस्तै व्यवसायिक प्रमुखको पदका लागि पनि पुरुष नै उपयुक्त हुने ४० प्रतिशत विश्वव्यापी जनसङ्ख्याको विश्वास रहेको पाइएको छ । यता २८ प्रतिशत महिला र २८ प्रतिशत पुरुष, दुवैले पतिले पत्नीमाथि शारीरिक हिंसा गर्नु अनुचित नमान्ने गरेको समेत पत्ता लागेको हो ।

यी डाटाहरु ७५ वटा मुलुकमा गरिएको रिसर्च र ८० प्रतिशत विश्व जनसङ्ख्याको अध्ययनका आधारमा रहेको थियो । रिपोर्टका बारेमा युएनडीपीले भनेको छ, “सबै देशमा लैङ्गिक विभेद निरन्तर मानव असमानताका रुपमा रहँदै आएको छ । केही क्षेत्रमा उल्लेखनीय प्रगति भएतापनि धनी वा गरिब, कुनै देशले पूर्ण रुपमा लैङ्गिक समानता हासिल गर्न सकेको छैन । ” युएनडीपी मानव विकासतर्फका प्रमुख पेड्रो कोनसिआओले यी तथ्याङ्कले विश्व अझै लैङ्गिक अन्तर समाप्त गर्नबाट कति टाढा छ भन्ने स्पष्ट पारेको बताए ।

उनले आफ्नो बयानमा भनेका छन्, “हामी प्राविधिक र वैज्ञानिक हिसाबले धेरै अगाडि बढिसकेका छौँ जसबीच महिलाहरुसँग पुरुषलाई जत्तिकै सबै कुराको पहुँच छ । यसमा हामीले मातृ मत्यु दर १९९० को तुलनामा ४५ प्रतिशतले कम गराउन सफल भएका छौँ । तर अझैपनि लैङ्गिक असमानता भने ठूलो सामाजिक चुनौतिका रुपमा जिवितै छ । आज लैङ्गिक समानता हाम्रो नैतिकता र मानसिकतासँग जोडिएर आएको छ । ”

यसरी अहिले पनि कतिपय मुलुकहरुमा लिङ्ग भेद धेरै खतरनाक अवस्थामा प्रचलित रहेको छ । जस्तै केही समय अगाडिको एक अध्ययनले विशेषगरी कम र मध्यम आय भएका मुलुकमा पाँच वर्ष मुनिका बालिकाहरुको मृत्यु दर त्यही उमेरका बालकहरुको तुलनामा अत्याधिक बढी रहेको पाइएको थियो । विश्व आर्थिक फोरमले पनि वार्षिक लैङ्गिक रिपोर्टमा अहिलेका मानिसहरुले आफ्नो जीवनभरमा पनि पूर्ण समानता देख्न नपाउने उल्लेख गरेको थियो । त्यसमा लिङ्ग भेद समाप्त हुन थप १०० वर्ष लाग्ने बताइएको छ । सीएनएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*