युरोपमा अमेरिकी शैलीमा बच्चा हुर्काउने चलन बढ्दै

जनपत्र
२० फाल्गुन २०७६, मंगलवार ०६:३७

ऐतिहासिक रुपमै युरोपेली अभिभावकहरुको बालबालिका हुर्काउने शैली आरामदायक रहँदै आएको थियो । तर पछिल्ला केही वर्षमा युरोपभर अमेरिकी अभिभावकहरुको शैली अपनाउने चलन बढ्दै गएको पाइएको छ । यसरी बालबालिका हुर्काउने कुरा भूगोल अनुसार फरक फरक हुने गर्दछ ।

जस्तै २००९ मा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुको एउटा समुहले गरेको रिसर्चमा भिन्दाभिन्दै देशका अभिभावकहरुले आफ्ना छोराछोरीमा भिन्दाभिन्दै किसिमका गुण खोज्ने गरेको पाइएको हो । यसरी देश अनुसारको सो फरकपना उनीहरुका लागि अत्यन्तै आश्चर्यजनक थियो । उदाहरणका लागि यसमा डच अभिभावकहरुले बच्चाको आराम, सरसफाइ र दैनिक तालिकामा बढी ध्यान दिन्छन् भने इटालियन अभिभावकले चाहिँ आफ्नो बच्चाको रिस्, डर आदि भावना सन्तुलित रहोस् भन्ने चाहन्छन् । यता अमेरिकी अभिभावकहरुको कुरा गर्नुपर्दा, उनीहरु भने आफ्ना छोराछोरीको दिमागी विकासप्रति बढी केन्द्रित रहने गरेको पाइएको छ ।

अमेरिकी अभिभावकहरुको यस किसिमको बच्चा हुर्काउने शैलीले १९८० दशक पछिको सामाजिक परिवर्तनलाई स्पष्ट पार्दछ । जसको असर युरोपमा पनि देखिरहेको छ । यसको एउटा कारण असमानताप्रतिको डर हुन सक्ने विज्ञहरुले बताएका छन् ।बच्चा हुर्काउने अमेरिकी शैलीलाई ‘इन्टेन्सिभ प्यारेन्टिङ’ पनि भन्ने गरिएको छ जसका लागि कुनैपनि अभिभावकले उल्ल्ेखनीय मात्रामा समय र पैसा खर्चिनुपर्ने वासिङटन युनिभर्सिटीका सोसोलोजी प्रोफेसर प्याट्रिक इशिजुका बताउँछन् । यसमा बालबालिकाहरुलाई धेरै सङ्ख्यामा अतिरिक्त क्रियाकलापमा सहभागी गराइने गरिन्छ जसले स्कुलमा उनीहरुको क्षमता र आवश्यकता पहिचान गर्नमा मद्दत गर्दछ । इसिजुका भन्छन्, “म यसलाई अहिलेका अमेरिकी अभिभावकको बच्चा हुर्काउने ‘कल्चरल मोडल’ भनेर व्याख्या गर्न चाहानछु । ”

तर यसरी अमेरिकामा मात्र नभएर सबै विकसित राष्ट्रहरुमा अभिभावकले बालबालिकासँग अधिकतम समय बिताउने चलन बढ्दै गएको २०१६ को अध्ययनले देखाएको छ । १९६५ देखिको डाटा संकलन गरि हेर्दा उनीहरुले आमा र बुवा दुवैले आफ्नो बच्चासँग दैनिक बिताउने समय वृद्धि भएको पाएका हुन् । यो ट्रेन्ड नअपनाउने एक मात्र देश फ्रान्स रहेको बताइएको छ । यो कुरा अभिभावक जस्तोसुकै सामाजिक आर्थिक स्तरको भएपनि लागू हुने बताइएको छ । उनीहरुका अनुसार अभिभावक जति धेरै शिक्षित हुन्छन् उनीहरुले त्यति नै धेरै समय बच्चाको ख्याल राख्नमा बिताउने प्रयास गरिरहेका हुन्छन् । यसमा अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई सकारात्मक बौद्धिक क्षमता वृद्धिका रुपमा पनि लिइएको पाइन्छ । यसले बालबालिकाको व्यवहारिक र शैक्षिक उपलब्धीमा समेत सुधार ल्याउन सक्ने मान्यता रहँदै आएको छ ।

यता डच अभिभावकले ऐतिहासिक रुपमै बालबालिकालाई अत्याधिक स्वतन्त्रता दिने गरेका छन् भने सहकारिता र ‘टिम वर्क’ लाई उनीहरुले शैक्षिक उपलब्धी भन्दा बढी प्राथमिकता दिन्छन् । तर उनीहरुमा पनि केही बदलाव देखा परिरहेको छ जहाँ बालबालिकाहरुको समय बढ्दो रुपमा तालिका अनुसार गराइन थालिएको पत्ता लागेको हो । जस्तै एक डच आमाले आफूलाई छोरीसँगको सबै समय एकदमै रमाइलो हुनैपर्ने जस्तो महसुस गर्ने गरेको बताइन् । त्यस्तै अर्की एक ब्यालेट शिक्षिकाले चाहिँ आफ्नी छोरीले ब्यालेट छाडेर स्वीमिङ रोजेकोप्रति आफू चकित भएको बताएकी हुन् । हालैको एक सरकारी अध्ययनले पनि यस किसिमको हुर्काउने शैलीले बालबालिकाहरुलाई धेरै खुसी बनाउने गरेको पत्ता लगाएको हो तर अर्कोतर्फ अभिभावक चाहिँ यसका कारण शैक्षिक विषयलाई लिएर अत्याधिक दबाबमा रहने गरेको पाइएको छ ।

जर्मनका अर्का एक रिसर्चरका अनुसार विगतमा अभिभावकहरुले छोराछोरी शारीरिक र मानसिक रुपमा ठीक भए नभएको मात्र सुनिश्चित गर्ने र शैक्षिक विकासको कुरा स्कुललाई छाडिदिने गरेका थिए । तर अहिलेका अभिभावकहरु बच्चाको पढाइमा बढी संलग्न हुनुका साथै स्कुलका टिचरहरुसँग समेत धेरै भन्दा धेरै अन्र्तक्रिया गरिरहेको बताइएको छ । असमानताका कारण आफ्ना छोराछोरीले पछि नपरुन् भनेर पनि उनीहरु यसमा धेरै गम्भीर भइरहेको र सफलतामा आधारित हुर्काउने शैली अपनाइरहेको उनी बताउँछन् ।

२०१६ को स्वीडेनमा गरिएको अर्को अध्ययनले पनि अहिलेका अभिभावकहरुमा अतिरिक्त क्रियाकलापले बालबालिकालाई जरुरी शीप विकास गर्नमा मद्दत गर्ने र सबैले यस्तै गर्छन् भन्ने मान्यता रहेको पत्ता लागेको हो । स्वीडेनमा असमानता तुलनात्मक रुपमा कम रहेको छ । त्यस्तै कतिपय जागिरे अभिभावकहरुले चाहिँ आफूलाई गैरजिम्मेवारपूर्ण नदेखाउनका निम्ति बालबालिकालाई अतिरिक्त क्रियाकलपमा सहभागी गराउने गरेको पनि पाइएको हो । यता विज्ञहरुले चाहिँ बच्चा हुर्काउने सम्बन्धी किताबहरुको बढी प्रयोग हुन थालेको पनि यस्तो भइरहेको बताइरहेका छन् ।

तर यो बदलिँदो शैलीले असामनता अझ धेरै बढाइदिएको पनि उनीहरुको भनाइ छ । जस्तै कि अभिभावकहरुले अतिरिक्त क्रियाकलापप्रति यस किसिमको चासो नदिँदा बालबालिकाहरुमो खर्चिने समय र रकम सबैका लागि एउटै हुने गर्दथ्यो । तर नयाँ ट्रेन्डको पछि लाग्नाले भने अभिभावक र बालबालिका दुवैमा नयाँ दबाब थपिदिएको छ । बिबिसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*