खप्तड गोल्डकप : सुदूरपश्चिम फाइनलमा

जनपत्र
१८ फाल्गुन २०७६, आईतवार ०७:१४

आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब पहिलो पटक सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा शनिबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लबलाई २–१ गोलले हराउँदै आयोजक सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

सुदूरपश्चिमको जितमा दुवै गोल विक्रमसिंह ठकुरीले गरे । एपीएफका आशिष लामाले एक गोल फर्काएका थिए । रोमाञ्चक बनेको खेलको तीनै गोल पहिलो हाफमा भएको थियो । घरेलु समर्थकको साथ पाएको सुदूरपश्चिमले एपीएफविरुद्ध खेलको आठौं मिनेटमा अग्रता लिएको थियो । विक्रमले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले एपीएफका दुई रक्षकलाई बिट गर्दै गोल गरेका थिए ।

११औं मिनेटमा विक्रमले व्यक्तिगत दोस्रो गोल गर्दै सुदूरपश्चिमको अग्रता दोब्बर बनाए । त्यसपछि २४औं मिनेटमा एपीएफका आशिषले गोल गरे । डीबक्सको अगाडि प्राप्त बललाई आशिषले दुई रक्षक र आयोजकका गोलरक्षक सुजित बीसीलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न नसक्दा आयोजक विजयी भयो ।

सुदूरपश्चिमले पहिलोपटक फाइनलमा स्थान बनाएको हो । खेलको म्यान अफ दी म्याच सुदूरपश्चिमका विक्रम चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । आइतबार थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लबबीच अर्को सेमिफाइनल खेल हुनेछ । फागुन २० सम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख एक रुपैयाँ र उपविजेतालाई १० लाख एक रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीलाई जनही १५/१५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*