काेराेना सङ्क्रमितकाे सङ्ख्या घट्न थाल्याे, खाेप बनाउन अझै केही समय लाग्ने

चीनमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या घट्न थालेका छन् । सङ्क्रमित हुनेको सङ्ख्या घटे पनि कोरोना भाइरसको महामारी तत्काल अन्त्य हुने घोषणा गर्न अहिले धेरै चाँडो हुने विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ ले जनाएको छ ।
यसअघि एक दिनमा झण्डै चार हजार जना नयाँ बिरामी भेटिने गरेकामा गएको दुई हप्तामा चीनमा दैनिक झण्डै दुई हजार जनामात्र नयाँ बिरामी भेटिएका चिनियाँ अधिकारीले बताएका छन् । गएको डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसका कारण चीनमा ११ सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने ४४ हजार ६ सय जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।
कोरोनाविरुद्ध लड्न चार वटा खोप बनाउने योजनामा रहेको पनि विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनकी प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथनले खोप बनाउने तयारी भए पनि केही समय लाग्ने जानकारी दिनुभएको हो । उनले भनिन्, ‘मलाई लाग्छ हामी भ्याक्सिन बनाउन सक्छौँ तर यसका लागि केही समय लाग्न सक्छ, यो एकै रातको काम होइन । चीनमा ४२ हजारभन्दा बढीमा देखिएको यो भाइरसको सङ्क्रमण २५ भन्दा बढी देशमा पनि देखिइसकेको छ ।