घुम्ने बहानामा आएका विदेशी पर्यटक यतै काम गरेर बस्छन्, त्यसरी बस्ने धेरैजसो अमेरिकी

जनपत्र
२६ माघ २०७६, आईतवार ०७:५५

अनेक प्रयोजनमा युरोप, अमेरिका पुगेका धेरै नेपाली स्वदेश फर्कंदैनन् भन्ने आमबुझाइ छ। तर, भ्रमण गर्ने उद्देश्यले नेपाल आएका थुप्रै विदेशी नागरिक आफ्नो देश नफर्कने गरेको पाइएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। पर्यटक भिसामा नेपाल आई विभिन्न जागिरमा आबद्ध हुनेमध्ये अमेरिकी नागरिक सबैभन्दा बढी छन्।

गृह मन्त्रालयले हालै घुम्ने नाममा पर्यटक भिसामा नेपाल आएर जागिरमा आबद्ध भएका एक सयभन्दा धेरै विदेशीलाई कारबाही गरेको छ। सरकारी आयोजना, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा निजी कम्पनीमा कार्यरत विदेशीहरू कारबाहीमा परेका हुन् । यो आर्थिक वर्षमा मात्र एक सयभन्दा धेरै विदेशी कारबाहीमा परेको गृह मन्त्रालयले जनाएको छ।

कारबाही पर्नेहरूमा धेरैजसो अमेरिकी नागरिक छन् । त्यस्तै, कोरिया, जापान, बेलायत, चीनलगायत देशका नागरिक पनि कारबाहीमा परेका छन् । उनीहरूलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ जरिवाना गराएर पर्यटक भिसालाई वर्किङ भिसामा परिवर्तन गर्न लगाइएको छ। विभिन्न परियोजनामा कार्यरत विदेशी नागरिकका फाइल अध्ययन गर्दा धेरैजसो पर्यटक भिसामा बसिरहेको खुलेपछि गृह मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो। कतिपयलाई उजुरीका आधारमा कारबाही गरिएको छ ।

‘हामीले ५० हजार जरिवानासहित धेरै विदेशीलाई कारबाही गरिसकेका छौँ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘पर्यटक भिसामा बसेर काम गर्नु अध्यागमनसम्बन्धी कसुर हो, त्यहीअनुसार कारबाही भएको छ।’

कारबाहीमा परेका धेरैजसो गैरसरकारी संस्थामा कार्यरत छन्। आइटीसम्बन्धी कम्पनीमा समेत ठूलो संख्यामा विदेशी कार्यरत रहेको आशंका गरिएको छ । कतिपय भने वर्किङ भिसाका नाममा धर्म परिवर्तनको काममा लागेको उजुरीसमेत पर्ने गरेका छन् । ती उजुरीमाथि समेत मन्त्रालयले छानबिन गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*