आलमलाई साधारण तारेखमा छाड्न उच्च अदालतद्वारा अस्वीकार

पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई साधारण तारेखमा छाड्न वीरगन्जस्थित उच्च अदालत जनकपुरले अस्वीकार गरेको छ ।
शुक्रबार उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले विस्फोटक पदार्थ बम प्रयोग गरी कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई नै सदर गरेको हो ।
न्यायाधीश सत्यमोहन जोशी थारु र डिल्लीराज आचार्यको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको आदेशलाई नै सदर गर्दै निजलाई पुर्पक्षका लागि थुनामा राख्दा लिइएका आधार र कारणहरुसमेत मनासिब देखिएकाले आलमलाई थुनामै राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको उच्च अदालतका श्रेस्तेदार ठाकुर खरेलले जानकारी दिए ।
पुर्पक्षका लागि थुनामा रहेको हालको अवस्थालाई निरन्तरता दिनु आवश्यक एवं उपयुक्त देखिएको भन्दै उच्च अदालत जनकपुरले जिल्ला अदालतबाट २०७६ कात्तिक २९ मा भएको आदेशलाई बेरितको भन्न नमिल्ने उनले प्रस्ट्याए ।
रौतहट जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार कार्यालय ललितपुरमा थुनामा रहेका प्रतिवादी आलमले उक्त आदेश बेरितको भएकोले तारेखमा रही मुद्दा पुर्पक्ष गर्न पाउँ भनी उच्च अदालत जनकपुरमा निवेदन दिएका थिए ।