एमसीसी विवाद झन् चर्किंदा अमेरिकी सक्रियता बढ्यो, उपाध्यक्ष आउँदै
अमेरिकी कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० मार्फत् आर्थिक सहयोग लिने सम्झौताको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र विवाद चर्किदै गएका बेला उच्चअमेरिकी अधिकारीहरुले नेपाल भ्रमणमा तीब्र बनाएका छन्। दक्षिण एशिया मामिला, सार्वजनिक कुटनीति हेर्ने जिम्मेवारी पाएका एक उच्चअमेरिकी अधिकारीले नेपाल भ्रमण गरेलगत्तै एमसीसीका एकजना उपाध्यक्ष शुक्रबार आउँदैछन्।
दक्षिण एसिया मामिला, सार्वजनिक कुटनीति तथा प्रेस हेर्ने अमेरिकी उपसहायक मन्त्री जोनाथन हेनिक ४८–घण्टे नेपाल भ्रमण सकेर फर्केको दुई दिनपछि नै एमसीसीका उपाध्यक्ष नेपाल आउन लागेका हुन्। हेनिक बुधबार फर्केका हुन्।
‘दक्षिण एसियाली पब्लिक डिप्लोमेसी सम्बन्धी कार्यक्रममा सहभागी हुन उपसहायक विदेशमन्त्री आउनु भएको हो’, अमेरिकी दूतावास स्रोतले भन्यो, ‘एमसीसी पनि चर्चामा रहेकाले त्यस विषयमा पनि छलफल भयो।’ हेनिकले नेपालमा रहँदा नागरिक समाजका प्रतिनिधि, थिंक ट्याङ्क, सरकारी अधिकारीहरुसँग भेट गरेको र सो क्रममा एमसीसी लगायतका समसामयिक विषयमा छलफल गरेको अमेरिकी दूतावास स्रोतले जनाएको छ।
नेपाल भ्रमण गर्न लागेका एमसीसी उपाध्यक्षले भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसहित उच्चपदस्थ अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ।






