हेटौंडाको आदर्श इङलिश बोर्डिङ स्कुललाई छात्रा भलिवलको उपाधि
हेटौंडा । हेटौंडा–९ मा रहेको श्री कृष्ण आदर्श इङलिश बोर्डिङ स्कुलले छात्रा भलिवलमा उपाधि जितेको छ ।
निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मकवानपुरको आयोजनामा माघ १६ गतेदेखि जारी प्याब्सन अन्तर विद्यालय प्रतियोगिता–२०७६ को छात्रा भलिवलमा कृष्ण आदर्शले उपाधि जितेको हो । यो उपाधिसँगै कृष्ण आदर्शको छात्रा भलिवल टिमले ४ पटक उपाधि जितेर इतिहास रचेको छ ।
कृष्ण आदर्शले जिएस निकेतनलाई २५–२२, २५–२३ र २५–१५ को सोझो सेटमा पराजित गरेको हो । जेम्स बोर्डिङ स्कुलले तेस्रो स्थानमा चित्त बुझाएको छ । जेम्सले उज्वल शिशु निकेतनलाई २५–१८, २५–२०, २५–२७ र २५–१७ को सेटमा हराएको हो ।
यसैगरी चेस प्रतियोगितामा नवोदन बोर्डिङका प्रसन्न सिग्देल प्रथम, प्रज्वल शिक्षा निकेतनका रिवाज श्रेष्ठ द्वितीय र उज्वल शिशुका आयुष आचार्य तृतीय भएका छन् । मेमोरी टेष्टमा शिक्षा विकास शिशु सदनका रितिश पौडेल प्रथम, कृष्ण आदर्शका जष्टिन कार्की द्वितीय र तुल्सी मेहेर बोर्डिङकी नमिता डल्लाकोटी तृतीय भएकी छिन् ।
ओरयाटोरी प्रतियोगितामा बालजागृति बोर्डिङ स्कुलकी कृषु अर्याल प्रथम, हेटौंडा एकेडेमीकी कृषा थापा द्वितीय र कृष्ण आदर्शकी कृष्टिना खतिवडा तृतीय भएकी छिन् ।
छात्र भलिवलतर्फ भोली आइतबार सेमिफाइनल र फाइल खेल हुने प्याब्सन मकवानपुरका सचिव नवीन केसीले जानकारी दिए । प्रतियोगितामा मकवानपुरका निजी विद्यालयका खेलाडीहरुले भलिवल, चेस, चित्रकला, मेमोरी टेष्ट, ओरयाटोरीलगायतका खेलमा प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा यसवर्ष क्रिकेट खेल भने समावेश गरिएको छैन् ।







